धरानः धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ शिवजट्टाको पानी नल्याउन समझदारीमा आएका छन् । ३ वडाका उपभोक्ताको विरोधपछि पानी नल्याइने सहमति भएको हो ।

पकुवा र निशानेसहित ३ परियोजना पछि शिवजट्टा परियोजनाको सर्वेक्षण जाँदै यसअधि नै स्थानीयले प्रतिकार गरका थिए । त्यसपछि पनि ३ वडाका उपभोक्ता समितिसँग समन्वय नगरी बिहीबार परियोजना सुरु गर्नका लागि जाँदै गर्दा उपभोक्ता सडकमा नै उत्रिएका थिए । सडकमा उत्रिएपछि प्रमुख साम्पाङ वार्तामा बसेका थिए । वार्तामा भालुखोला उत्तरतर्फ कुनै पनि स्थानको पानी अन्यन्त्र लान नदिने स्थानीयले अडान लिएपछि प्रमुख साम्पाङ पछि हटेका हुन् । 

धरान ४, १३ र १४ का उपभोक्ताले बिहीबार प्रमुख साम्पार्ङविरुद्द शिवधारा चोकमा आन्दोलन गरेका थिए । धरान ४, १३ र १४ का बासिन्दाले खानेपानी मुहान जाने बाटो शिवधारा पेट्रोल पम्पअगाडि अवरोध गरेका थिए । 

वडाध्यक्षहरुसहित उपभोक्तासँगको वार्तापछि भालुखोलमा मात्रै परियोजना सञ्चालन गरिने भएको हो । धरान ४, १३, १४ र ५ को देवीगाउँसहितको करिब १७ सय उपभोक्ताले सो क्षेत्रको स्रोतबाट पानी उपभोग गर्दै आएका छन् ।