धरानः आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गर्ने भएको छ ।
शुक्रबार धरानमा पत्रकार सम्मेलन गर्दै सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुमार कार्की र सुनसरी क्षेत्र नं. १ (क) का उम्मेदवार खगेन्द्र श्रेष्ठलाई समर्थन गर्ने जानकारी दिएका हुन् । सुनसरी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका संघीय उम्मेदवार कुमार कार्की र प्रदेश सभा ‘क’ तर्फका स्वतन्त्र उम्मेदवार खगेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टी बीच ४ बुँदे सहमति भएको हो ।
सहमति पत्रमा पार्टीका सङ्घीय परिषद अध्यक्ष केपी पालुङ्वा, स्वतन्त्र उम्मेदवार र निर्वाचन परिचालन कमिटीका संयोजक आइत लिम्बूले हस्ताक्षर गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका सङघीय परिषद् अधयक्ष के.पी. कालुङ्वाले स्वतन्त्र उम्मेदवार भएपनि राष्ट्रिय स्तरमा संगठन भएकाले कार्की र श्रेष्ठसँग सहकार्य गरेको बताए ।
उनले प्रत्यक्षमा २ कार्की र श्रेष्ठले सहयोग गर्ने र उनीहरुले जनमुक्तिका समानुपातिक उम्मेदवारलाई सहयोग गर्ने बताए । स्वतन्त्र उम्मेदवार कार्कीले पार्टीसँग सहकार्य गरेपनि स्वतन्त्र नै रहेको बताए ।
सहमतिका बुँदामा भनिएको छ,– ‘निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले सुनसरी क्षेत्र नम्बर १ संघीय उम्मेदवार कुमार कार्कीलाई चुनाव चिह्न घण्टाघर र प्रदेश सभा ‘क’ तर्फका उम्मेदवार खगेन्द्र श्रेष्ठको चुनाव चिह्न पानीको धारामा मतदान गर्ने, स्वतन्त्र उम्मेदवार कार्की र श्रेष्ठले राष्ट्रिय जनमुक्ति पार्टीका समानुपातिक उम्मेदवारको चुनाव चिह्न घरमा मतदान गर्ने, चुनावी तालमेलका लागि अन्य उम्मेदवार तथा दलहरुलाई पनि आह्वान गर्ने र चुनावी अभियानमा कुनै पनि पार्टीको झण्डा प्रयोग गरिने छैन ।’