प्रकाश बन्जारा 

इटहरीः स्वतन्त्र उम्मेदवारहरुको चर्चा चलिरहँदा आगामी मंसिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनेहरुको लर्को लागेको छ । 

स्थानीय निर्वाचनमा लौरो चुनाव चिन्ह लिएका उम्मेदवारहरु काठमाण्डौ महानगरबाट बालेन्द्र शाह र धरान उपमहानगरबाट हर्क साम्पाङ्गको विजयसँगै आसन्न निर्वाचनमा पनि लौरो चिन्ह लिएर राजनितिक दललाई चुनौति दिँदैँ स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा आएका छन् । 

आसन्न निर्वाचनका लागि प्रदेश १ बाट प्रतिनिधिसभा सदस्यको लागि १६ जना र प्रदेशसभा सदस्यको लागि २८ जनाले लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसमा केहि जिल्लाका सबै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी परेको छ भने केहिमा आंशिक निर्वाचन क्षेत्रमा उम्मेदवारी परेको छ । 

सुनसरी क्षेत्र नम्बर १ ‘क ’बाट विजय कालिकोटेले उम्मेदवारी दिएका छन् भने सुनसरीको क्षेत्र नम्बर २ ‘क ’ केदार गुरागाईको मनोनयन दर्ता भएको छ । यस्तै सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि राजेश चौधरीको उम्मेदवारी परेको छ । 

सुनसरी क्षेत्र नम्बर ३ ‘क’ मा तिलक अधिकारीले लौरो चुनाव चिन्हबाट उम्मेदवारी दर्ता गराएका छन् भने सुनसरी ३ ‘ख’ मा सुनिता विश्वासको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यको लागि सुनसरी ३ बाट यज्ञबहादुर कट्वाल गणेशले उम्मेदवारी  मनोनयन गराएका छन् । यस्तै सुनसरी क्षेत्र नम्बर ४ ‘क’ का  लागि नरेन्द्र बस्नेत भोलाको उम्मेदवारी परेको छ भने सोहि निर्वाचन क्षेत्रको प्रदेशसभा ‘ख’ का लागि सुरेन्द्र कुमार पण्डितको उम्मेदवारी परेको छ । यता प्रतिनिधीसभामा भने डा.खालिद हुसेनले उम्मेदवारी दिएका छन् । 

सुनसरीको क्षेत्र नम्बर ३ ‘क’ मा लौरो अभियानका उम्मेदवारसँग कडा प्रतिस्धर्पा हुने आंकलन गरिएको छ । स्वतन्त्र उम्मेदवार समन्वय समितिका अभियान्ता पदम अधिकारीले दिएको जानकारी अनुसार बिहिबार बस्ने समितिको बैठकले आफ्नो उम्मेदवारी नभएको कुन कुन क्षेत्रमा अन्य स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने बिषयको टुगो लाग्ने अधिकारीको भनाई छ ।