विराटचोकः मोरङको निर्वाचन क्षेत्र नम्बर ३ मा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए । एमाले र माओवादी केन्द्रको तत्कालीन वाम गठबन्धनका उम्मेद्वार ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गरेर निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका सुनिल शर्माले ४० हजार ५ सय ६ मत प्राप्त गर्दै दोस्रो बनेका थिए । यो क्षेत्रमा आगामी मंसिर ४ मा हुने निर्वाचनमा राप्रपा नेतृ तथा नायिका रेखा थापाले समेत उम्मेद्वारी दर्ता गराएकी छिन् ।
मोरङ ३ मा पछिल्लो समय विभिन्न कोणबाट बहस हुने गरेका छन् । पूूर्व मन्त्री समेत भएका ढकाल र शर्माको विकल्पका रुपमा थापाको नाम चर्चामा रहने गरेको छ । थापाले केही समय यता गाउँका मतदातासँगको भेटघाटलाई तीव्र बनाइरहेकी छिन् । सिने क्षेत्रबाट राजनीतिमा होमिएकाले नेतृ थापासँग युवादेखि ज्येष्ठ नागरिकसम्म झुम्मिने गरेका छन् । सुरक्षाकर्मीदेखि सर्वसाधारण उनीसँग सेल्फी खिचाउन लालायित हुने गरेका छन् । यो सेल्फी खिचाइ राजनीतिक कारण नभई नायिकाका रुपमा सम्मानका साथ फोटो खिचाउने गरेको पाइएको छ ।
यस्तै, अर्का उम्मेद्वार शर्माको आफ्नै तरिका रहेको छ । काङ्ग्रेस मोरङ ३ मा कमजोर रहेको छ । गत स्थानीय तहको निर्वाचनलाई हेर्ने हो भने यस क्षेत्रमा एमाले बलियो उम्मेद्वार रहेको क्षेत्र हो । तर सुनिल शर्माले सो क्षेत्रका बासिन्दालाई स्वास्थ्य उपचारमा गरेको सहयोगकै कारण यस पटक शर्माले बाजी मार्ने आँकलन एकथरीको छ ।
नोबेल मेडिकल कलेजका सञ्चालक समेत रहेका उनले यस क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सहयोग गरेकाले जनताले समेत मत दिनेमा शर्मा ढुक्क देखिन्छन् । तर गत स्थानीय तहको निर्वाचनमा भएको काङ्ग्रेसको किचलो भित्रभित्र रहिरहेको र केही नेताले पार्टी छाड्नुपर्ने कारण नै शर्मा भएको भन्दै आएकाले उनलाई पार्टीको खासै भर देखिँदैन । गठबन्धन भए पनि यस क्षेत्रमा माओवादी र समाजवादी कमजोर अवस्थामै रहेकाले शर्मालाई जीत निकाल्न गाह्रो हुने देखिन्छ ।
यसैगरी, पूर्व मन्त्री ढकालका विषयमा गाउँसमाजमा खुलेरै विरोध हुने गरेको छ । कोभिड १९ को महामारीको समयमा स्वास्थ्य सामग्री खरीद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै नागरिक रुष्ट देखिन्छन् । तर ढकालले भने यो विषयमा आफूलाई बदनाम गराउने मनशायले विरोधका लागि विरोध मात्रै हुने गरेको बताउँदै आएका छन् । स्थानीय तहको नतिजा हेर्ने हो भने ढकाललाई जीत निकाल्न सहज देखिन्छ । तर उनको व्यक्तिगत छविमा लागेको आरोप र एक पटक नयाँ अनुहारको खोजीमा मतदाता लागे भने शर्माको पल्ला भारी हुने देखिन्छ ।