प्रकाश बन्जारा
इटहरीः अवको राजनितिमा युवालाई अग्रसर बनाउने नारा जति लागेपनि आगामी पाँच बर्षे कार्यकालका लागि राजनितिक दलबाट उमेदवार बनेकाहरु ५० बर्ष भन्दा माथि उमेरका छन् ।
४ वडा क्षेत्रमा बाँडिएको सुनसरी जिल्लाबाट संघ र प्रदेशमा गरेर १२ जना सांसदहरु निर्वाचित हुनेछन् र आगामी पाँच बर्ष उनीहरुकै सेरोफेरोमा देशको आर्थिक र राजनितिक गतिविधिहरु सञ्चालन हुनेछन् ।
सुनसरी क्षेत्र नम्बर १ अर्थात धरानको ठुलो हिस्सा ओगटेको क्षेत्रमा २० जनाले प्रतिनिधिसभा सदस्यको लागि उमेदवारी दिएका छन् । मुल त नेपाली कांग्रेस र नेकपा एमालेसाथै माओवादी र जसपाको समेत बाहूल्यता रहेको यस क्षेत्रमा अशोक राई नेकपा एमाले र जनता समाजवादीको साँझा उमेदवारको रुपमा आएका छन् । खोटाङ्ग, उदयपुर हुँदै सुनसरीबाट उमेदवारी दिन आएका राई ६५ बर्षका छन् । यता राप्रपा नेपालले पनि सुनसरी १ बाट अशोक कुमार राई नामकै उमेदवारलाई उठाएको छ उनको उमेर पनि ६१ बर्ष छ ।
सुनसरी १ बाट ५८ बर्षे मनोजकुमार म्यान्ङबो स्वतन्त्र उमेदवार बनेका छन् । नेकपा एमालेको राजनिति गरेका उनलाई धरानमा धेरै एमाले कार्यकर्ताको साथ छ भने अन्य पार्टीको भोट पनि पाउने सम्भावना छ । यस्तै सत्ता गठबन्धनले नेकपा माओवादीका मुक्साम हाङ्ग सुव्वाले उमेदवारी दिएका छन् । सुव्वा ४० बर्षका हुन अन्य पार्टीका उमेदवारको उमेर हेर्दा उनी युवा छन् ।
यता सुनसरी १ ‘क’ मा नेपाली कांग्रेसले उमेश थापालाई उठाएको छ । थापा ४९ बर्षका छन् । यस्तै राप्रपा नेपालले पनि ३४ बर्षे भिम बहादुर लिम्बुलाई सुनसरी १ को उमेदवार बनाएको छ । सुनसरी १ ‘क’ मा नेकपा एमालेले उठाएका रमेश बस्नेत ५६ बर्षका छन् । सोही निर्वाचन क्षेत्रबाट राप्रपाले ६२ बर्षे उद्धव श्रेष्ठलाई उठाएको छ ।
१४ जनाको उमेदवारी परेको सुनसरी १ ‘ख’ मा मुलत सत्ता गठबन्धनका रेवतीरमण राई नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका विजय कुमार राईको प्रतिस्पर्धा हुने देखिन्छ । जितको दौडमा रहेका यी दुवै उमेदवार ५० बर्ष माथिका हुन् । रेवतीरमण राई ५७ बर्षका छन् भने विजयकुमार राई ५१ बर्षका छन् ।
सो क्षेत्रबाट राप्रपा र नागरिक उन्मुक्ति पार्टीले युवा उमेदवार छानेका छन् जसको उमेर राप्रपाका अनिश ढकालको २८ बर्ष र नागरिक उन्मुक्तिका ओम प्रकाश थारुको २५ बर्षका हुन् । तर उनीहरुको जित निकै मुस्किल देखिन्छ ।
सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेले ६३ बर्षे भीमप्रसाद आचार्यलाई उमेदवार बनाएको छ भने रोचक प्रतिस्र्धाको आंकलन गरिएका सत्ता गठबन्धनका उमेदवार नेपाली कांग्रेसका सीताराम मेहता ६७ बर्षका छन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ बर्षीय लालविक्रम थापा र विवेकसिल पार्टीले ३० बर्षे विजय कुमार बस्नेतलाई उमेदवार बनाएका छन् ।
सुनसरी क्षेत्र नम्बर २ ‘क’ मा ५६ बर्षीय द्धारिकलाल चौधरीसँग ५७ बर्षीय रेवतीरमण भण्डारीको प्रतिस्पर्धा हुने भएको छ । द्धारिकलाल एमालेबाट नेकपा माओवादीमा प्रवेश गरेर टिकट पाएका हुन भने भण्डारी एमालेका जिल्ला अध्यक्ष छन् ।
सुनसरी २ ‘क’ बाट २६ बर्षीय अनिसा बस्नेतले स्वतन्त्र उमेदवारी दिएकी छन् । यता सुनसरी क्षेत्र नम्बर २ ‘ख’ मा कांग्रेसले ६० बर्षे राजीव कोइरालालाई उठाएको छ भने नेकपा एमालेले ६७ बर्षे राम प्रसाद महतोलाई टिकट दिएको छ ।
सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिस्र्धामा आएकी भगवती चौधरी ५१ बर्षकी छन् भने उनीसँग प्रतिस्र्धामा रहेका नेपाली कांग्रेसका विजयकुमार गच्छादार ६८ बर्षका हुन् । सुनसरी ३ बाट प्रतिनिधीसभामा उमेदवारी दिएका कुन्दन बहरदारको उमेर २५ बर्ष छ । यस्तै प्रदेश सभातर्फ सुनसरी ३ ‘क’ मा नेकपा एमालेका ७१ बर्षीय रोहित बहादुर कार्की प्रतिस्र्धामा छन् भने सत्ता गठबन्धनको तर्फबाट उमेदवारी बनेकी नेकपा माओवादीकी सरस्वती पोखरेल ४७ बर्षकी छिन् । यता ३ ‘ख’ मा नेकपा एमालेले ६१ बर्षे रामदेव यादवलाई अगाडी सारेको छ भने सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले ६७ बर्षे विन्देश्वर यादवलाई उठाएको छ ।
सुनसरी ४ बाट नेकपा एमालेले ६१ बर्षीय जगदिशप्रसाद कुसैयतलाई अघि सार्दा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ६५ बर्षीय ज्ञानेन्द्र बहादुर कार्की मैदानमा छन् । प्रदेश सभातर्फ सुनसरी ४ ‘क’ मा नेपाली कांग्रेसका ५५ बर्षीय सदानन्न मण्डल उमेदवार बनेका छन् भने नेकपा एमालेले समर्थन गरेको जसपाबाट परशुराम बस्नेत उमेदवर बनेका छन् । बस्नेत ५८ बर्षीय हुन् । सुनसरी ४ ‘ख’ मा एमालेले ५१ बर्षीय अव्वास अन्सारी मियाँलाई उमेदवार बनाएको छ भने कांग्रेसले ४६ बर्षीय इस्राइल मन्सुरीलाई उठाएको छ । यस क्षेत्रमा लोसपाले ३८ बर्षीय सन्तोष कुमार मेहतालाई टिकट दिएको छ ।