प्रकाश बन्जारा
इटहरीः दशैँको माहोल सकिनै लागेको दिन आइतबार इटहरीको सडक निकै व्यस्त र भिडभाड युक्त देखियो । बिहानै देखिएको यो भिडमा धेरैजसो युवा युवतीहरु देखिन्थे । धेरैको हातमा झाँडु थियो केही केहीले बोरा बोकेका थिए ।
निधारमा सानो टिका लगाएका जोडीहरु मोटरसाइकलमा हर्न बजाउँदै गन्तव्यतिर हुइकिँदै गर्दा बोरा र झाँडु बोकेको भिड केही फाट्थ्यो अनि पुनः सडकको फोहोरहरु टिपेर बोरामा हाल्दै अगाडी बढ्दै थिए ।
चाडबाडले धेरैलाई व्यस्त बनाएपनि कसैलाई सामाजिक काममा मस्त समेत बनाएको दृश्यको आन्तर्य खोज्दै जाँदा इटहरी इसाई समाजले आयोजना गरेको नगर सरसफाई कार्यक्रम रहेछ ।
सरसफाई कार्यक्रमको आयोजक संस्था इटहरी इसाई समाजको युवा समिति रहेको समाजका अध्यक्ष राजेश भण्डारीले बताए । हात हातमा पञ्जा, मुखमा माक्स अनि बोरा र झाँडुमा सजिएका झण्डै २ सयको हाराहारी युवा युवतीले इटहरी चौकदेखि सुरु गरेको सरसफाई नगरपालिकाको गेटबाट भित्र छिर्यो । केही फोटो खिच्न व्यस्त देखिएपनि धेरै भने सरसफाईमै मस्त देखिए । दायाँ वायाँ देखिने सबै पातपतिङ्गरहरु समेत टिपेर युवा युवतीले सुन्दर समाजको परिकल्पना गरे । इटहरी चोकबाट नगरपालिका पुगेपछि एउटा टोली हटिया लाइन हुँदै विराटनगर लाईनबाट नेशनल गल्लिसम्मको सफाई सकेर चोकमा पुग्यो भने अर्को टोली नगरपालिकाबाट संगीत चोक हुँदै धरानलाईन पुगेर आइतबार हुँदै गुद्री बजारबाट पुर्व पश्चिम राजमार्ग छोर चोकमै मिलन गरे ।
इटहरी इसाई समाजको युवा समितिका अध्यक्ष युनुस खतिवडाका अनुसार इटहरी, तरहरा, झुम्का र खनारका गरी झण्डै ५० वटा चर्चहरुबाट इसाई धर्मावलम्विहरु सरसफाइ कार्यक्रममा सहभागी भएका थिए ।
सहरलाई सफा राख्नुपर्छ भन्ने भावना अनुसार आफ्नो युवा समितिको तर्फबाट पहिलो कार्यक्रम सरसफाईको आयोजना गरिएको खतिवडाले सुनाए । भोलीका दिनमा तरहरा, झुम्का, खनार लगायतका क्षेत्रमा छुटा छुट्टै सरसफाई कार्यक्रमहरु आयोजना गरिने अध्यक्ष खतिवडाको भनाई थियो ।
समाजमा इसाई अथवा मण्डली भन्ने वित्तिकै अर्कै दृष्टिले हेर्ने चलन भएकाले इसाईहरु पनि अरु जस्तै मान्छे हुन र उनिहरु पनि समाजमा उक्तिकै अग्रसर भएर लाग्छन् भन्ने सन्देश दिन पनि सरसफाई कार्यक्रमको आयोजना गरेको खतिवडा सुनाउँछन् ।
सहरको सफाई त्यहाँमाथि आफ्नै वडाको सफाईमा युवाहरु सक्रिय भएर लागेपछि इटहरी वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोखरेलले इटहरी चोकमै आएर इसाई समाजको युवा समितिलाई धन्यवाद दिएका थिए । कार्यक्रमको अन्तमा इटहरी इसाई समाजका अध्यक्ष राजेश भण्डारीले सरसफाईमा सहभागी सबै युवा तथा सुरक्षाकर्मी र संचारकर्मी समेतलाई धन्यवाद दिएका थिए ।