धरानः नेकपा एमाले केन्द्रीय नेतृत्वले जसपासँग गठबन्धन गरेर  सुनसरी क्षेत्र नं. १ मा जनता समाजबादी पार्टीलाई प्रतिनिधिसभा सदस्यको लागि छाडेपछि असन्तुष्ट बनेको धरानको नेकपा एमालेले धरानका पुर्व नगरप्रमुख मनोज कुमार मेन्याङ्बोलाई बागी उठाएको छ । 

एमालेले  जसपाका नेता अशोक राईलाई समर्थन दिए पछि अधिकाशं एमाले नेता कार्यकर्ताहरुले असन्तृष्ट जनाउँदै शनिवार २४ घण्टे अल्टिमेटम दिएका थिए ।  तर २४ घण्टामा केन्द्रबाट केही निर्णय नआएपछि धरानको एमालेका कार्यकर्ताले मेन्याङ्बोलाई बागी उम्मेद्वारी दिन उक्साएका थिए । मेन्याङ्बोले आइतबार मनोनयन दर्ता गराएका छन् । 

उनले  धरानको भानुचोकमा घोषणा सभा गरि उम्मेद्वारी घोषणा गरेका थिए । एमाले क्षेत्रीय कमिटीले प्रतिनिधिसभा सदस्यको लागि निवर्तमान सांसद जयकुमार राईको नाम सर्वसम्मत सिफारिस गरेको थियो । राईले नै टिकट लिने समेत लगभग तय पनि थियो । तर, सत्ता गठबन्धनमा रहेको जसपाले एमालेसँग तालमेल गर्ने भए पछि सुनसरी १ जसपालाई एमालेले दिएको छ । 

सुनसरी १ मा अधिकांश एमाले नेता तथा कार्यकर्ताहरुले विद्रोह गरेका छन् । उनीहरुले प्रतिनिधी सभासदस्यमा मनोज मेन्याङ्बो, प्रदेश सभा सदस्य ‘क’मा विजय राई र ‘ख’ मा रमेश राईलाई जिताउने उद्घोष गरेका छन् ।  अशोक राई गत २०७४ को निर्वाचनमा जयकुमार राईसँग दोव्वर मतले हारेका थिए ।  

मेन्याङ्बोको सपोर्टमा निर्वाचन परिचालन कमिटी समेत गठन भइसकेको छ । निर्वाचन परिचालन समितिको संयोजकमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा धरानका सञ्चार उद्यमी किशोरकुमार कार्कीलाई तोकिएको छ ।