इटहरीः नेकपा एमालेको मोरङ्ग केराबारी गाउँपालिका वडा नम्बर २ कमिटीका अध्यक्ष डेनीलाल लिम्बु सहित पुरै कार्यसमितिले राजीनामा दिएका छन् ।
अध्यक्ष सहितका पदाधिकारी र १३ जना कार्यसमिति सदस्यले शनिवार गाउँपालिका कमिटीका अध्यक्षसमक्ष राजीनामा दिएका हुन । उनीहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेशसभा र प्रतिनिधिसभाको मोरङ्ग जिल्ला कमिटीमा उम्मेद्वारी छनौटमा एकलौटी भएको भन्दै सिंगो वडा कमिटीले राजीनामा बुझाएका हुन् ।
नेकपा एमाले मोरङ्गको तर्फबाट मोरङ्ग क्षेत्र नम्बर १ ख मा उम्मेद्वार छनौट तथा सिफारिस गर्दा पार्टीले एकलौटी र मनोमानी ढंगले जनभावना विपरित उम्मेद्वारलाई टिकट वितरण गरेकोमा सिंगो वटा कमिटीले खेद समेत प्रकट गरेको छ ।
राजीनामा बुझाउनेमा केराबारी गाउँपालिका कमिटीका अध्यक्ष डेनीलाल लिम्बु, उपाध्यक्ष पृत बहादुर लिम्बु, सचिव शेर बहादुर लिम्बु, उपसचिवद्धय विपिन राई र लक्ष्मी राई साथै सदस्यहरु प्रकाश लिम्बु, मनोज राई, यमन मुसाहाङ्ग, सुर्योदय खाण, खगेन्द्र जमरकटेल लगायतका सदस्यहरु छन् ।