प्रकाश बन्जारा
इटहरीः मंसिर ४ नजिकिँदै जादाँ प्रदेशका अधिकांश ठाउँमा उम्मेद्वारको टुङ्गो लागिसकेको छ ।
भोली असोज २३ गते उम्मेद्वारी मनोनयन गर्ने भएपछि देशका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
यसपालिको निर्वाचनमा खास त नेकपा एमालेसँग तालमेल भएको जसपा र राप्रपा अनि सत्ता गठबन्धनसँग चुनावी घम्सा घम्सि हुने देखिएको छ ।
सत्तारुढ गठबन्धनसँग गतिलै प्रतिस्पर्धा गनुपर्ने देखिएपछि नेकपा एमालेले पनि जसपा नेपाल र राप्रपासँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेको छ ।
प्रदेश एकको चुनावी तालमेल र हालसम्म टुङ्गो लागेका उम्मेद्वारहरुको अवस्था हेर्दा तेह्रथुममा सत्ता गठबन्धनका तर्फबाट सीता गुरुङ उम्मेदवार बन्ने भएकी छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी गुरुङ्गले विपक्षी गठबन्धनबाट नेकपा एमालेका विजय सुब्बासँग प्रतिस्पर्धा गर्नेछिन् ।
पाँचथरमा सत्ता गठबन्धनबाट काङ्ग्रेसका भीष्मराज आङ्देम्बे र विपक्षी गठबन्धनबाट एमालेका बसन्त नेम्वाङबीच प्रतिस्पर्धा हुने देखिएको छ भने धनकुटामा काङ्ग्रेस उम्मेदवार सुनिल थापासँग एमालेका राजेन्द्र राईले प्रतिस्पर्धा गर्नेछन् । जसपाले पाउने भनिएको ठाउँमा कांग्रेसको भाग लागेपछि यहाँ तिव्र असन्तुष्टि देखिएको छ ।
प्रदेश एकको संखुवासभामा काङ्ग्रेसका दीपक खड्कासँग एमाले राजेन्द्र गौतमले प्रतिस्पर्धा गर्नेछन् । ओखलढुंगामा काङ्ग्रेसले रामहरि खतिवडालाई टिकट दिएको छ भने एमालेले यज्ञराज सुनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
खोटाङमा एमालेका नेता विशाल भट्टराई र माओवादी नेता रामकुमार राईबीच प्रतिस्पर्धा हुने लगगभ निश्चित छ । केही बिवादास्पद छवि बनाएका विशाललाई खोटाङमा सहज नभएको विश्लेषण कार्यकर्ता तहबाटै हुँदै आएको छ । मानवीर राईलाई एमालेले सोलुखुम्बुबाट उम्मेदवार बनाएको छ । यता सत्ता गठबन्धनबाट बलबहादुर केसी उम्मेदवार बन्ने चर्चा छ यद्यपि टुगो भने लागि नसकेको बताइएको छ ।
ताप्लेजुङमा एमालेका सचिव योगेश भट्टराईले टिकट पाएका छन् भने सत्ता गठबन्धनले खिलप्रसाद बुढाथोकी (पराग)लाई टिकट दिएका छन् । बुढाथोकी नेकपा माओवादीका नेता हुन ।
इलामको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल उम्मेदवार बन्ने भएका छन् भने खनालसँग एमाले नेता महेश बस्नेतको प्रतिस्पर्धा हुने भएको छ ।
यता इलामकै क्षेत्र नम्बर २ मा भने एमालेबाट सुवासचन्द्र नेम्वाङको नाम छ भने गठबन्धनबाट कांग्रेसको भाग छ तर कांग्रेसले उम्मेद्वारको टुगो लगाइसकेको छैन ।
झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा र एमालेका अग्नि खरेल, झापा २ मा एमालेका देवराज घिमिरे र माओवादी केन्द्रबाट धर्मशीला चापागाईं, झापा ३ मा कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका राजेन्द्र लिङ्देन, झापा ४ कांग्रेसका देउमान थेबे र एमालेका एलपी साँवाबीच प्रतिस्पर्धा हुने भएको छ । झापा ५ मा भने एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार हुने निश्चित रहँदा सत्तारुढ गठबन्धनबाट को उम्मेद्वार बन्ने भन्ने निश्चित भएको छैन ।
मोरङको निर्वाचन क्षेत्र १ मा कांग्रेसबाट डिकबहादुर लिम्बू र एमालेबाट घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने पक्का छ । क्षेत्र नम्बर २ मा भने एमालेबाट ऋषिकेश पोखरेल उम्मेदवार बन्दा कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको छैन ।
मोरङ–३ मा कांग्रेसबाट एकल प्रस्ताव भएका डा. सुनिल शर्माको टिकट आइसकेको छैन । एमालेले भानुभक्त ढकाललाई टिकट दिएको छ ।
मोरङ–४ मा माओवादी केन्द्रका नेता अमनलाल मोदीसँग एमाले नेता विनोद ढकालले प्रतिस्पर्धा गर्नेछन् । मोरङ–५ मा माओवादी नेता शिवकुमार मण्डल र जसपाका नेता राजकुमार यादवबीच प्रतिस्पर्धा हुनेछ । मोरङको क्षेत्र नम्बर ६ मा कांग्रेस नेता डा शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितबीच प्रतिस्पर्धा हुने भएको छ ।
सुनसरीको १ नम्बर क्षेत्रमा जसपाबाट अशोककुमार राई र माओवादी केन्द्रका मुक्साहाङ मेन्वाङ्बोबीच प्रतिस्पर्धा हुनेछ । यता नेकपा एमालेको असन्तुष्ट समुहले धरानका पुर्व मेयर मनोज म्याङ्गवोलाई स्वतन्त्र उम्मेद्वार बनाउने भएको छ ।
सुनसरीको २ नम्बर क्षेत्रमा कांग्रेसले उम्मेदवार टुंग्याएको छैन भने एमालेले भीम आचार्यलाई टिकट दिएको छ । सुनसरीको ३ नम्बर क्षेत्रमा कांग्रेसले पुनः विजयकुमार गच्छदारलाई उम्मेदवार बनाएको छ भने एमालेले पुन भगवती चौधरीलाई टिकट दिएको छ । अघिल्लो निर्वाचनमा पनि उनिहरु दुई जनाविच नै प्रतिस्पर्धा भएको थियो । यता सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्र कार्कीको टिकट सुनिश्चित हुँदा एमालेका जगदिश प्रसाद कुसियैतले टिकट पाएका छन् । कुसियत यसअघि प्रदेश सांसद भई पर्यटनमन्त्री समेत भएका नेता हुन् । पर्यटनमन्त्री हुँदा भ्रष्टाचार गरेको र आफ्नो क्षेत्रमा केही नगरेको भन्दै एमालेकै स्थानीय धेरै नेताहरु उनिसंग असन्तुष्ट छन् ।
उदयपुरको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका डा.नारायण खड्का र एमालेकी मेज चौधरीबीच प्रतिस्पर्धा हुने पक्का हुँदा उदयपुर–२ मा भने नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा र एमालेका ज्ञानेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । भोजपुरमा भने एमाले नेता तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राई र माओवादीका नेता सुदन किराँतीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।