इटहरीः पाँच बर्षे प्रदेश सभाको कार्यकाल सकाएका नेकपा एमालेका नेता लिलम बस्नेत पार्टीबाट टिकट नपाउने भएपछि स्वतन्त्र उम्मेद्वारी दिने तयारीमा छन् । 

बस्नेतले सुनसरी ३ ‘क’ बाट स्वतन्त्र उम्मेद्वारी दिन लागेको उनि निकट स्रोतले बताएको छ । 

पार्टीले सुनसरी क्षेत्र नम्बर ३ ‘क’ बाट रोहित कार्कीलाई उम्मेद्वार बनाउने भएको छ भने नेकपा गठबन्धनको तर्फबाट नेकपा माओवादीले प्रदेश सभाकी उपसभामुख सरस्वती पोखरेललाई उठाउँदैछ । भागबण्डामा असन्तुष्ट देखिएको कांग्रेसले के गर्ला भन्ने हेरेर उम्मेद्वारी घोषणा गर्ने तयारीमा नेकपा एमालेका नेता लिलम बस्नेत रहेको बुझिएको छ ।

बस्नेत २०७४ को निर्वाचनमा निर्वाचित प्रदेश सांसद बनेका थिए । स्थानीय तह निर्वाचनमा बस्नेत इटहरी उपमहानगरको मेयर पदका लागि टिकटका लागि दौडमा थिए । तर टिकट एमाले इटहरी नगरकमिटि अध्यक्ष याम सुब्बाले पाएका थिए  । 

सुब्बा कांग्रेसका हेमकर्ण पौडेलसंग भारी मतले पराजित भएका थिए । प्रदेश सांसदकै रेसमा रहेका मेयरको टिकट पाउनबाट बञ्चित भएका रामप्रसाद चौलागाईले पनि प्रदेश सांसदको टिकट पाएनन् । यामकुमार सुब्बा र लक्ष्मि गौतम पनि टिकटका लागि रेशमा थिए । तर कसैले पनि टिकट पाएनन् । टिकट नपाए मध्येका चौलागाई र सुब्बा असन्तुष्टि रहेको बुझिएको छ ।