इटहरीः कुनै बेला एक भएको संकेत दिएका रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरी आगामी प्रदेशसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ ‘क’ मा आमने सामने हुने भएका छन् । 

नेकपा एमालेको दशौँ जिल्ला अधिवेसनमा अध्यक्षका प्रतिस्पर्धी रेवतीरमण भण्डारी र द्धारिकलाल चौधरी प्रदेशसभाको निर्वाचनमा पुनः एक अर्काको सामना गर्न खडा भएका हुन् । नेकपा एमालेले सुनसरी २ ‘क’ बाट रेवतीरमण भण्डारीलाई टिकट दिने भएको छ भने भर्खरै नेकपा माओवादीमा प्रवेश गरेका नेकपा एमालेका पुर्व जिल्ला अध्यक्ष द्धारिकलाल चौधरीले पाँच दलिय सत्ता गठबन्धनबाट प्रदेशसभामा टिकट पाउने पक्का भएको छ । चौधरी लामो राजनितिक जिवन विताएका अर्का प्रभावशाली नेता हुन् भने भण्डारी दोस्रो संविधान सभाका सदस्य तथा नेकपा एमालेका सुनसरी अध्यक्ष हुन् । पार्टीको जिल्ला अध्यक्षको निर्वाचनमा द्धारिकलालले राम्रो मत नल्याएपनि जनतामा राम्रो पकड भएको पाइन्छ । 

खास गरी चौधरी समुदायमा द्धारिकलाललाई विकास प्रेमी नेताको रुपमा चिन्ने गरिएको छ । यता गठबन्धनको पनि साथ भएपछि चौधरीलाई चुनाव जित्न त्यक्ति गाह्रो नहुने नेकपा माओवादी इत्तरका नेताहरुको दावी छ । यता नेकपा एमाले इत्तरको भनाई भने रेवतीरमणले स्वतह चुनाव जित्ने बताइरहेका छन् । पार्टी संगठन राम्रो भएको दावी गर्ने नेकपा एमालेका नेताहरु भन्दा द्धारिकलालको पकड राम्रो भएको गठबन्धन दल निकट कार्यकर्ता बताउँछन् । 

नेकपा माओवादीमा प्रवेश गरेको हप्ता दिन नवित्दै चौधरीले शुक्रबार आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा भएको उपस्थितीले पनि चौधरी कमजोर छैनन् भन्ने कुरा देखाइसकेको छ । इटहरी उपमहानगरको मेयरमा पाँच बर्षे कार्यकाल सकेका चौधरी केहि विवादित बाहेक विकास प्रेमी नेताको रुपमा छवि बनाएका थिए । 

शुक्रबारको चियापान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित विपक्षी दलबाट निर्वाचित भएको वडा अध्यक्षहरु तथा नेकपा एमालेकै नेताहरुको समेत भिडभाड देखिनु चौधरीको पक्षमा अझै राम्रो जनमत छ है भन्ने संकेत समेत हो ।