धरानः आगामी मंसीर ४ गते हुने संघीय निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी बिच तालमेल हुनेभएपछि बिभाजित समुहले धरानबाट छुट्टै उम्मेद्वार खडा गर्ने भएको छ ।
गठबन्धनको तर्फबाट पनि जनता समाजवादीबाट सुनसरी क्षेत्र नम्बर १ अर्थात धरान क्षेत्रको उम्मेद्वार बन्ने होडमा रहेका अशोक राईलाई एमाले जसपासंग गठबन्धनले पनि स्वीकार गर्ने भएपछि नेकपा एमालेमा पहिरो गएको हो ।
नेकपा एमाले धरानका धेरै जसो पदाधिकारी सहितका कार्यकर्ताहरु सुनसरी क्षेत्र नम्बर एकबाट धरान उपमहानगरका पुर्व मेयर मनोज कुमार मेन्याङबोको पक्षमा थिए तर एक्कासी पाँचदलिय गठबन्धनमा असन्तुष्ट बनेको जसपा एमालेमा तालमेल गर्न पुगेपछि एमालेका अग्रणीकार्यकर्ताको भाग खोसिने भएको हो ।
केपी ओलीले जसपासँग तालमेल गर्ने निर्णयसँगै सुनसरी क्षेत्र नम्बर १ जसपालाई दिन राजी भएपछि पार्टीमा तिव्र असन्तुष्टि भएको कार्यकर्ताले बताएका छन् । गत स्थानीय निर्वाचनमै मेयरको टिकटका दावेदार मनोज कुमार म्याङ्गवोले मन्जु भण्डारीले टिकट पाउँदा खुलेरै विरोध गरेका थिए । पार्टीले पछि संघ तथा प्रदेशमा सेटिङ्ग गर्ने सर्तमा चित्त बुझाएका मेन्याङबोलाई अहिले कार्यकर्ताको बलमा संघीय सांसदको लागि स्वतन्त्र उम्मेद्वारको रुपमा खडा गर्ने तयारी भइरहेको बताइएको छ ।
मेन्याङबोको उम्मेद्वारीका लागि आज शनिवार बिहान साढे ११ बजे धरान स्थित ताप्लेजुग सरोकार समाजको सभाहलमा छलफल गर्ने तयारी भइरहेको नेकपा एमाले स्रोतको भनाई छ । तर मेन्याङबोले भने यसबारेमा खुलेर केहि बोलेका छैनन् । सम्भवत आज साढे एघार बजे हुने छलफल पछि धरानका पुर्व मेयर मनोज मेन्याङबोले स्वतन्त्र उम्मेद्वारको घोषणा गर्ने कार्यक्रम तय हुने छ ।