इटहरीः इटहरी उपमहानगरपालिकाका विवादित निवर्तमान नगरप्रमुख द्धारिकलाल चौधरी नेकपा माओवादीमा प्रवेश गर्ने भएका छन् । 

प्रदेश पोर्टललाई प्राप्त जानकारी अनुसार सुनसरी क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सभामा उम्मेद्वारी दिने तयारी सहित चौधरी भोली नेकपा माओवादीमा प्रवेश गर्न लागेका हुन । 

नेकपा एमालेका प्रदेश समिति सदस्य चौधरीले विवादित पाँच बर्षे कार्यकाल इटहरी उपमहानगरको मेयरको रुपमा विताईसकेका छन् । 

नेकपा एमालेको जिल्ला कमिटीको अध्यक्षमा चुनाव लडेका चौधरीले लज्जास्पद हार व्यहोरेपछि पार्टीपंतिमा खासै उनको प्रभाव छैन त्यसैले पनि अवसर पाउने भएपछि नेकपा माओवादीमा जान लागेको स्रोतको दावी छ । उनले जिल्ला अध्यक्षको निर्वाचनमा १ हजार ८ सय मत खस्दा जम्ममा ८० मत मात्र प्राप्त गरेका थिए । ०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट मेयरको टिकटका लागि उनले निकै संघर्ष गरेका थिए । अन्तिम अवस्थामा याम सुब्बाले टिकट पाएका थिए । त्यसपछि उनि एमाले पार्टीसंग निकै रिसाएका थिए । उनले याम सुब्बाले टिकट पाएपछि र स्थानीय तह निर्वाचनको मत परिणाम आएपछि समाजिक सञ्जालमा याम सुब्बा र पार्टीका जिल्ला तहका जिम्मेवार नेताहरुलाई तथानाम गाली गर्दै स्टाटस लेखेर थप विवादित बनेका थिए । 

विवाद विावदका कारण उनलाई एमाले पार्टीले स्थानीय तहको मात्र नभई प्रदेश र संघको समेत निर्वाचनमा उम्मेद्वारका लागि टिकट नदिने पक्का भएपछि उनले टिकटका लागि माओवादीमा लबिङ थालेका थिए । माओवादीबाट टिकट पाउने निश्चित भएपछि उनले माओवादीमा प्रवेश गर्ने निर्णय गरेको बुझिएको छ । 

टिकटका लागि चौधरी माओवादीमा प्रवेश गर्ने तयारी गर्ने चर्चा सुरु भएसंगै माओवादीका केही नेताहरु भने असन्तुष्ट भएका छन् । एमालेमा रहँदा विवादै विवादमा परेका चौधरीले आफ्नो आचरणमा सुधार नगरे माओवादी पार्टीलाई नै विवादमा पार्न सक्ने भन्दै उनको प्रवेशमा उनिहरुले असन्तुष्ट व्यक्त गरेका हुन् । 

उनी भोली माओवादी अध्यक्ष प्रचण्डको हातको टिका लगाएर प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ । चौधरीलाई प्रदेशसभा सदस्यको उम्मेद्वार बनाउने विषयमा माओवादी पंक्ति सहमत भइसकेको बुझिएको छ । चर्को अभिव्यक्ति र खरो स्वभाबको कारण बेलाबेला बिवादमा आइरहने उनेको इटहरीका थारु समुदायमा बलियो प्रभाव रहेको मानिन्छ ।