इटहरीः लागुऔषध सेवन गरी  सार्वजनिक सवारीसाधन चलाउने इटहरीका प्रदिप श्रेष्ठ  पक्राउ परेका छन् । 

को १ ज १४८१ नम्बरको म्याजिक भ्यानमा यात्रु लिएर विराटनगरबाट सुनसरीको इनरुवातिर जाने तयारी गर्दैगर्दा बिराटनगरबाट श्रेष्ठ पक्राउ परेका हुन । 

इटहरी उपमहानगरपालिका–१३ घर भएका ३८ वर्षीय प्रदीपलाइ लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले  विराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट बुधबार बिहान १० बजेतिर पक्राउ गरेको हो । 

प्रहरीका अनुसार ‘टेष्ट किट’को प्रयोग गरेर परीक्षण गर्दा उनले लागुऔषध डाइलेक्स डीसी र गाँजा सेवन गरेको पुष्टि भएको छ । परीक्षण गर्ने उपकरणमा किट र पिसाब राखेर जाँच गर्दा श्रेष्ठको लागुऔषध सेवनसम्बन्धी रिपोर्ट पोजिटिभ आएको प्रहरीले जनाएको छ । 

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले श्रेष्ठलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले पक्राउ परेका चालकविरुद्ध लागुऔषध सेवन सम्बन्धी मुद्दा चलाइने जानकारी दिए । 

यस्तै गरि सुनसरीको इटहरी घर भएका २३ वर्षीय शौरभ लाखेलाई मंगलबार प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।  लागुऔषध सेवन गरेर चलाइएको मे १ ख ३०८९ नम्बरको बसका चालक हुन ।  चालकले लागुऔषध सेवन गरेरनगरेको पत्ता लगाउन सार्वजनिक यातायातको क्षेत्रलाई लक्षित गरेर विराटनगरमा मंगलबारदेखि ट्राफिक प्रहरीले लापसे (लागुपदार्थ सेवन) सम्बन्धी जाँच सुरु गरेको छ ।