धरानः धरान उपमहानगरका प्रमुख हर्कराज साम्पाङले कार्यपालिका सदस्यलाई बाहिर जानु भनेपछि सम्पुर्ण सदस्यहरुले बिहिबारको बैठक बहिष्कार गरेका छन् ।

बिहिबार कार्यपालिका बैठकको कार्यसुचिमा भएका ७ वटा प्रस्तावहरु पारित हुँदै आएका थिए । धरान १७ वडाध्यक्ष तथा नगरका प्रवक्ता सुर्यबहादुर भट्टराई (मनोज) का अनुसार कार्यसुचीको आठौ नम्बरमा धरान १७ को सप्तरङ्गी पार्कलाई बहुसांस्कृतिक पार्क बनाउने प्रस्ताव थियो । उक्त प्रस्ताव प्रमुख साम्पाङले नै ल्याएको प्रवक्ता भट्टराईले बताए ।

 उक्त प्रस्तावमा कार्यपालिका सदस्य अनुप देवानले आफ्ना कुरा राख्दै गर्दा प्रमुख साम्पाङले बस्नुहोस भनेका थिए । कार्यपालिका सदस्य अनुप देवानका अनुसार आफूले कुरा राख्न पाउनु पर्ने धारणा राख्दा प्रमुख साम्पाङले अमर्यादिन रुपमा बाहिर निस्कनु भनेको बताए । उनले भने, ‘कुरा राख्न पाउनु पर्छ भन्दा आफूलाई बाहिर जानु भन्नुभयो ।’

 उनले सप्तरङ्गी पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) बनिसकेकाले बहुसांस्कृतिक पार्क विजयपुरमा बनाउने धारणा राखेका थिए । प्रवक्ता भट्टराईले प्रमुख साम्पाङले सार्वजनिक रुपमा माफि नमागेसम्म बैठक नबस्ने बताए ।