इटहरीः चाडपर्वलाई लक्षित गरेर सुनसरीमा विशेष सुरक्षा योजना लागू गरिएको छ । सर्वसाधारणमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै चाडपर्वलाई सुरक्षित, मर्यादित र सभ्य बनाउन सुरक्षा योजना बनाएर लागू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी प्रभु ढकालले सुरक्षित तवरले चाडपर्व मनाउने वातावरण सृजना गर्ने दायित्व प्रहरीको बताउँदै सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।

६२ किलोमिटर भारतीय सीमा क्षेत्र रहेको सुनसरीमा चाडपर्वको समयमा हुने लागुऔषध तस्करी, भन्सार छली तथा आपराधिक क्रियाकलाप हुन नदिन ११०७ जना प्रहरी परिचालन हुने जनाइएको छ ।

साथै चाडपर्वमा हुने जुवा तास तथा चोरी लुटपाटका घटना हुन नदिन साधा पोसाकका प्रहरी समेत परिचालन गरिएको एसपी ढकालले जानकारी दिए । प्रहरीको पिकेट, सवारी गस्ती, मोबाइल, मोटरसाइकल, साइकल र पैदल गस्ती बढाएर सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । साथै नजिकिँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ।

यता प्रदेश १ मा चाडपर्वको समयमा हुने सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीले समेत सुरक्षा योजना लागु गरेको छ ।  प्रदेश १ राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले पनि चाडपर्वको समयमा हुने दुर्घटना न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुको साथै सवारी चेकजाँचलाई तीव्रता दिइएको छ ।

ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम कुमार महतोका अनुसार प्रदेश भरी ४ सय भन्दा बढी ट्राफिक प्रहरीहरूलाई परिचालन गरिएको जानकारी दिए ।

साथै मापसे गरेर सवारी चलाउने सवारी साधन र ओभर लोड यात्रु बोक्ने सवारी साधनलाई विशेष निगरानी गरिएको जनाइएको छ । चाडपर्वको समयमा यात्रुहरूसँग मनपरी भाडा उठाउने सवारी साधनलाई ध्यानमा राखिने सुरक्षा योजना रहेको छ । पहाडी जिल्लाहरूमा यो वर्ष विशेष सवारी साधन चेकजाँच राखिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।