इटहरीः नेपाल प्रेस युनियनकी नेत्री अनिता विन्दुले आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पत्रकारले संवेदनशील भएर सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने बताएकी छन् ।

शुक्रबार इटहरीस्थित नेपाल प्रेस युनियन सुनसरीको कार्यालयमा आयोजित भेटघाटमा संक्षिप्त कुरा राख्दै उनले सो कुरा बताएकी हुन् ।

‘मंसिर ४ गते हुने निर्वाचनमा सबै पत्रकारहरूले संवेदनशील भएर सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्छ,’ विन्दुले भनिन्, ‘प्रेस युनियनले जहिल्यै पनि प्रेस स्वतन्त्रता र लोकतन्त्रको संरक्षणमा काम गर्दै आएको छ ।’ उनले निर्वाचनका क्रममा रिपोर्टिङ गर्दा पत्रकारहरूमा पर्ने समस्याको विषयमा प्रेस युनियन उनीहरूका हक र अधिकारका निम्ति लड्ने समेत बताइन् ।

साथै, निर्वाचनमा आचारसंहिताभित्र रहेर रिपोर्टिङ गर्नुपर्ने समेत उनको भनाई छ ।

नेपाल प्रेस युनियनको गत साउन ६ र ७ गते हेटौँडामा भएको नवौँ महाधिवेशनमा अध्यक्षकी प्रत्याशी समेत रहेकी उनले चुनावमा होमिएपछि जीत, हार एक पक्षको हुने भएपनि त्यसलाई सबैले स्वीकारेर नयाँ नेतृत्वलाई काम गर्नका लागि प्रोत्साहन गर्नुपर्ने समेत बताइन् ।

‘अब युनियनले मंसिर तेस्रो साता प्रदेशको निर्वाचन समेत तोकिसकेकाले मर्यादित भएर नयाँ नेतृत्व चुन्नुपर्छ,’ युनियनकी केन्द्रीय सल्लाहकार समेत रहेकी उनले भनिन्, ‘प्रदेशको निर्वाचनलाई भयरहित र मर्यादित ढंगले सम्पन्न गर्न पनि अपिल गर्दछु ।’

उक्त कार्यक्रममा युनियन सम्बद्व पत्रकारहरूको उपस्थिति रहेको थियो ।

साथै युनियनको निर्माण हुन लागेको भवनको जग्गा समेत अवलोकन गरिएको युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।