इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले आफूले  प्रयोग गर्दै आएको सरकारी गाडी सरकारलाई बुझाएका छन् । 

प्रदेशसभाको पदावधि सकिनै लाग्दा कोइरालाले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी प्रदेशसभा सचिवालयलाई बुझाएका हुन्  । सोमबार नेता कोइरालाले आफूले प्रयोग गरी आएको को.१ झ ६५४ नम्बरको सवारी बुझाएको सचिवालयले बताएको छ । 

संघीय सांसदको उम्मेदवारमा नाम सिफारिस भएपछि गाडी प्रदेशसभा सचिवालयलाई बुझाएको उनले बताएका छन् ।

निर्वाचन आइरहँदा त्यसको तयारीमा लाग्नुपर्ने भएकाले दुरुपयोगको आरोप नलागोस् भनेर आफूले प्रयोग गर्दै आएको गाडी बुझाएको उनको भनाइ छ ।

कोइराला सुनसरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ प्रत्यक्षमा उम्मेदवार सिफारिस भएका छन् । सो क्षेत्रबाट संघीय सांसदमा सीताराम मेहता र केन्द्रीय सदस्य राजीव ढुङ्गानाको नाम पनि सिफारिस भएको छ ।