धरानः आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ (क) बाट समानुपातिकतर्फ दलितबाट युवराज शंकरको नाम एकल सिफारिस भएको छ ।
स्वच्छ छविका शंकरले यसअघि नेपाली काङ्ग्रेस धरान उपमहानगर कार्यसमिति सचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । उनले धरानमा उपनिर्वाचनबाट नेपाली काङ्ग्रेसको तर्फबाट पहिलो पटक मेयर जिताउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनी पार्टीको १४ औं महाधिवेशनबाट दुई तिहाइभन्दा बढी मत प्राप्त गरी सुनसरी क्षेत्र नं १ (क) तर्फको सचिवमा निर्वाचित भएका थिए ।
समाज र पार्टीमा लोकप्रिय उनी धरानको हरेक विषयमा प्रत्यक्ष चासो राख्छन् । विश्वकर्मा युवा समाज धरानका अध्यक्षसमेत रहेका उनी पेसाले सुनचाँदी व्यवसायी हुन् । शंकर राजनीतिसँगै सामाजिक विभेद विरुद्धको अभियानमा पनि अग्र पङ्क्तिमा रहँदै आएका छन् । जातीय विभेदका कारण २०७२ सालमा पिण्डेश्वर मन्दिरमा सामुहिक ब्रतबन्धमा दलित समुदायलाई निषेध गर्दा उनकै नेतृत्वको आन्दोलनपश्चात सामुहित व्रतबन्धमा दलित सहभागी हुन पाएका थिए ।
उनी समावेशितालाइ सँस्थागत गर्न आफँै धरानको पुरानो धार्मिक सँस्था पिण्डेश्वर बाबाधाम समितिका कार्यकारी सदस्य हुन् । शान्त र मिलनसार स्वभावका उनी राजनीतिक क्षेत्रबाट मात्र समाजमा रहेका विकृति विसंगति र भ्रमहरुलाई चिर्दै समुन्नत समाज निर्माण गर्न सकिन्छ भन्ने उनको विचार राख्छन् । पार्टी र समाजले आफूलाइ प्रदेशसभा सदस्यको लागि योग्य ठान्नेमा विश्वस्त रहेको उनी बताउँछन् ।