गाईघाटः पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगले उद्योग स्थापना भएपछि ऐतिहासिक रूपमा पहिलो पटक पूर्ण क्षमतामा सिमेन्ट उत्पादन कार्य शुरु गरेको छ ।

प्रतिदिन ८ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता रहेको उद्योगले एक हप्तादेखि पूर्ण क्षमतामा उत्पादन कार्य शुरु गरेको उद्योग प्रशासनले बताएको छ । उदयपुरको जलजलेमा २८ वर्षअघि जापान सरकारको सहयोगमा स्थापना भएको सो उद्योगले स्थापना कालदेखि प्रतिदिन ५ सय ५० देखि ६ सय मेट्रिकटनसम्म मात्र सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

लोडसेडिङ तथा प्राविधिक समस्याका कारण सोचेजस्तो सिमेन्ट उत्पादन हुन नसके पनि गत वर्षदेखि केही समस्या समाधान गरेर उद्योगले ७ सय मेट्रिकटनसम्म सिमेन्ट उत्पादन शुरु गरेको प्रशासनले जनाएको छ । विद्युतदेखि प्राविधिक कुरामा सुधार हुँदै गएपछि पूर्ण क्षमतामा उत्पादन सम्भव भएको बताइएको छ ।

प्रशासनका अनुसार २ वर्ष अघिसम्म घाटामा रहेको उद्योगले एक वर्षदेखि वार्षिक रु ३५ करोड आम्दानी गर्न थालेको छ । निरन्तर पूर्ण क्षमतामा सिमेन्ट उत्पादन भए वार्षिक अर्बौं रुपैयाँ आम्दानी गर्ने उद्योग प्रशासनले जनाएको छ ।