धनकुटाः ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन धनकुटाका एक बालकका आमाबाबुले आर्थिक सहयोगका लागि सबैसँग अपिल गरेका छन् ।

धनकुटाको शहीदभूमि गाउँपालिका वडा नं. ३ तेली टोलका ११ वर्षीय सरोज राईको उपचारमा समस्या भएपछि बाबुआमाले सहयोगको याचना गरेका हुन् । उनको उपचारका लागि डाक्टरले २० लाख रकम आवश्यक भएको बताएपछि आमा सरिना र बाबु छत्र राईले सहयोगको लागि अपिल गरेका हुन् ।

‘मलाई विदेश हुँदा सुगर भएर १२ लाख खर्च भयो । यसलाई त उपचार नै गर्न नसकिने झन् ठूलो रोग पो लागेछ,’ बाबु छत्रले भने ।
नोबेल मेडिकल कलेज विराटनगरमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि भरतपुर क्यान्सर अस्पताल लान लागिएको उनले जानकारी दिए । विद्यालयको १६ हजार सहयोगसहित हालसम्म २ लाख ५० हजार सकिएछि थप उपचारका लागि आर्थिक अभाव भएको उनले बताए ।

स्थानीय जालापादेवी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत उनलाई हिँड्न नसक्ने, ज्वरो निको नहुने र नाक तथा मुखबाट रगत बग्ने लक्षण देखिएपछि ब्लड क्यान्सर भएको पत्ता लागेको थियो ।

कृषि पेशामा आबद्ध उनीहरूसँग अन्य कुनै आम्दानीको स्रोत नभएकाले आफ्नो एक मात्र छोरा बचाइदिन राई दम्पत्तिले सबैलाई अनुरोध गरेका छन् ।

balak  (2)