इटहरीः करारमा काम गरिरहेका कर्मचारीको म्याद पौष मसान्त २०७९ सम्म थप गर्ने भन्ने प्रस्तावमा कार्यसम्पादन मूल्यांकन कसले गर्ने भन्ने विषयमा सहमति नहुँदा कार्यपालिकाबाट फिर्ता भएको छ । 

करारका कर्मचारीको म्याद थप नहुँदा साउन महिनाबाट करारका २ सय हाराहारी कर्मचारीले उधारो काम गरिरहेका छन् । बुधबार भएको इटहरी उपमहानगरपालिकाको कार्यपालिका बैठकमा नगरप्रमुखले पौष २०७९ सम्म म्याद थप गर्ने र त्यसपछि कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन प्रमुख प्रशासकीय अधिकृतले गर्ने र त्यसैको आधारमा म्याद थप गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार पनि प्रशासकीय अधिकृतलाई नै दिने प्रस्ताव पेस गरेका थिए । 

वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले म्याद थप गर्ने भन्ने विषयमा सहमत भएता पनि ६ महिनापछि पुनः कार्यपालिकामै आउनुपर्ने र कार्यपालिकाबाटै म्याद थपको निर्णय गर्नुपर्ने भनाइ राखेका थिए । कार्यसम्पादन मूल्याङ्कनको आधारमा राम्रो काम गरिरहेका कर्मचारीलाई निरन्तरता दिने र काममा ध्यान नदिने कर्मचारीलाई बिदा गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्ने प्रस्ताव नगरप्रमुखको थियो । कर्मचारीको मुद्दा जनप्रतिनिधिले हेर्ने समय छैन । कर्मचारी हेर्ने पूरा अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई दिने र त्यहाँबाट केही गुनासो आएमा मात्रै कार्यपालिकाले निर्णय गर्ने मेयरले बताए । 

IMG-20220905-WA0036

नगरपालिकालाई सेवा चाहिएको भएकाले करार कर्मचारीको म्याद थप्दा आपत्ति नहुने नगरप्रमुख पौडेलको भनाइ थियो । करार कर्मचारीको विषयमा वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदी , वडा नम्बर ४ का वडाध्यक्ष भक्तबहादुर लामा, वडा नम्बर ९ का वडाध्यक्ष जितेन थापा लगायतल म्याद थप्ने वा नथप्ने विषयमा भने कार्यपालिकाले नै निर्णय गर्नुपर्ने भनाइ राखेका थिए । केही वडाध्यक्षले वडामा काम गर्ने कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन वडाध्यक्षले नै गर्न सक्ने बताएका थिए । 

करार कर्मचारीको कार्यविधिअनुसार कार्यपालिकाले म्याद थप गर्ने नियम भएकाले त्यो कार्यविधि नै परिमार्जन गर्नुपर्ने मेयर पौडलको भनाइ थियो । करार कर्मचारीको विषयमा बहस चलिरहँदा वडाध्यक्षहरुले कर्मचारी सरुवाको विषय प्रवेश गराएपछि सभाध्यक्षले बारम्बार विषयमा केन्द्रित रहेर छलफल गर्न ध्यानाकर्षण गराएका थिए । वडा नम्बर १२ मा सरुवा भएर गएका वडा सचिवले अध्यक्षलाई भेटेर केही दिनपछि आफू नगरपालिकामै हाजिर गर्न जान सक्ने बताएका थिए भने वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीले आफ्नो वडामा भ्याक्सिन नै हान्न नजान्ने स्वास्थ्य कर्मचारी पठाएको भन्दै आफूलाई समस्या भएको भनाइ राखेका थिए । 

वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोखरलेले भने कम्प्युटर चलाउने भनेर लिइएको कर्मचारीलाई कम्प्युटर चलाउन नआउने समेत भएकाले त्यस्ता कर्मचारीलाई कार्यसम्पादन हेरेर बिदा गर्न सक्नुपर्ने भनाइ राखेका थिए ।

करार कर्मचारीको म्याद थप गर्ने सम्बन्धि प्रस्ताव अर्को कार्यपालिका बैठकमा थप छलफल गरी पेश गर्ने गरी नगरप्रमुखले फिर्ता लिएको जानकारी बैठकलाई गराएका थिए । कार्यपालिका सदस्यहरुले छलफलमा गइसकेकाले आजै निर्णय गर्न आवाज उठाएपनि मेयरले यो विषय आफुले फिर्ता लिएको बैठकलाई जानकारी गराए ।