इटहरीः नेकपा माओवादी केन्द्रले सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको लागि युवा उद्यमी मदन चुडालको नाम सिफारिस गरेको छ ।
राजनीतिमा युवाको आकर्षण बढाउन र युवाको आवाजलाई सदनमा लैजानका लागि आफू प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको चुडाल बताउँछन् ।
चुडालसँगै नेकपा माओवादीले पूर्वकृषि राज्यमन्त्री रामकुमारी चौधरीको नामसमेत सोहीक्षेत्रबाट सिफारिस गरेपछि केन्द्रले कसको पक्षमा टिकट दिन्छ भन्नेसमेत प्रश्न उव्जेको छ ।
समानुपातिकतर्फबाट संसदमा पुगेर राज्यमन्त्रीसमेत भइसकेकी रामकुमारी चौधरी एक हिसाबले टेस्टेड नेतृको रुपमा चिनिएकी छन् भने उनीसँगै युवा नेता मदन चुडाल पहिलो पटक संसदीय निर्वाचनको अभ्यासमा भाग लिने दौडमा छन् ।
प्रत्यक्ष निर्वाचनमा पनि पटकपटक प्रतिस्पर्धा गरेर समानुपातिकबाट राज्यमन्त्री बनेकी रामकुमारी चौधरीले युवा नेतृत्व र पहिलो पटक प्रयास गर्दै रहेकाले पनि चुडाललाई उम्मेदवार बनाउन सहयोग गर्ने विश्वास मदनले लिएका छन् । ‘आफ्नो कार्यकर्ता उठ्न खोज्दा उहाँले आफैँ बुझ्नुहुन्छ ।’चुँडालले प्रदेश पोर्टलसँग भने ।
चन्दाबाट मात्रै राजनीति सञ्चालन गरिनु हँुदैन भन्ने सोचाइ राख्ने चुडाल युवा उद्यमीसमेत हुन् । रिलायवल ग्रुप अफ कम्पनी सञ्चालन गरिरहेका चुडालले अढाई सयभन्दा बढीलाई रोजगारसमेत दिलाइरहेका छन् ।
संघीयव्यवस्थामा जनताको वितृष्णा बढिरहेको समयमा संसदमा युवाको आवश्यकता रहेको भन्दै चुडालले आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
‘युवाहरुमा राजनीतिप्रति वितृष्णा पैदा भइरहेको अवस्थामा राजनीतिक पार्टी नै नेपालको आवश्यकता हो । पार्टीगत हिसाबले पनि स्वच्छन्द विकास गर्न सकिन्छ भन्ने सन्देश दिनको लागि पनि मदन चुडाल संसदमा जान आवश्यक छ ।’ उनले प्रदेश पोर्टलसँगको कुराकानीमा भने ।
इटहरीमा ६ लेनको सडक बनाउनुपर्ने आवश्यकता र त्यसको लडाइँमा सरिक भएका चुडाल आज रोजगार सहितको विकास हुनुपर्छ भन्ने भनाइका पक्षपाती हुन् ।
तराईको बोर्डर क्षेत्रका जनताको आवाज अहिलेसम्म कसैले पनि नबोलेको बताउने चुडाल आफू पहाडी समुदायको मधेसवासी भएको हुनाले दुवै वर्गका जनताको आवाज बोल्नको लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रतिस्पर्धामा जान लागेको बताउँछन् ।
पार्टीमै पनि र सर्वसाधारण जनतामा समेत आफ्नो आवश्यकता छ भन्ने आवाज आएका कारण पार्टी पंक्तिबाट आफ्नो नाम सिफारिस भएको मदनको भनाइ छ ।
‘नेता भएपछि जनताको मनोविज्ञान पनि बुझ्नुपर्छ । म सँगैको प्रतिस्पर्धी र मलाई आइरहेको कमेन्ट, सुझाव लगायतलाई हेर्दा जनताको माग मदन चुडाल नै हो भन्ने भएको छ । ’उनले भने ।
‘यसपालि युवालाई मौका दिउँ भन्दै गर्दा पुराना नेतालाई साइड लगाउँ भन्ने पनि हैन तर धेरै नेताहरु सुनसरी २ बाट निर्वाचित भएर गए तर यो क्षेत्रको आवाज बोलेनन् । यो क्षेत्रका जनताको आवाज बुलन्द गर्न मेरो आवश्यकता छ । ’चुडालले थपे ।
नेकपा माओवादी केन्द्रको इटहरी उपमहानगर कमिटी इन्चार्ज, तथा प्रदेश कमिटी सदस्य साथै अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर २ का निर्वाचन संयोजकसमेत रहेका चुडाल युवा उद्यमीसमेत हुन् ।
सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय उनले नेपाल जेसिसको झण्डा सगरमाथाको चुचुरोमा फहराएका थिए । २०६८ सालमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेता मदन चुडाल सत्तारुढ गठबन्धनबाट समेत सुनसरी क्षेत्र नम्बर २ नेकपा माओवादीको भागमा पर्ने दाबी गर्छन् ।