बेलबारीः दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर प्राविधिकहरू पढाउन थालेको बेलबारी नगरपालिकाले व्यावसायिक कम्प्लेक्स बनाउन थालेको छ ।
नगरपालिकाले बेलबारी–९ मा कम्प्लेक्स बनाउन थालेको हो । कम्प्लेक्सको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । ३ तलाको सभा हलसहितको सो कम्प्लेक्स केही समयपछि सञ्चालनमा आउने बताइएको छ ।
गाउँमा सिंहदरबार आएको महसुस गराउनका लागि विकास बजेटलाई समेत गाउँकेन्द्रित गरी कम्प्लेक्स बनाइएको नगरपालिकाले जनाएको छ । व्यावसायिक सो कम्प्लेक्स नगरको आम्दानीको राम्रो स्रोत हुने अनुमान गरिएको छ । मेयर सुवेदीका अनुसार कम्प्लेक्सको पहिलो र दोस्रो तला व्यापारिक प्रयोजनका लागि प्रयोग गरिनेछ भने तेस्रो तलामा सभा हल हुनेछ ।