इटहरीः आसन्न प्रदेशस्भा तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।
निर्वाचन क्षेत्र समन्वय कमिटीले ओलीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाले नेता इन्द्र भण्डारीले अध्यक्ष ओलीलाई सर्वसम्मत रुपमा उम्मेदवारमा सिफारिस गरिएको बताए । यता, ओलीकै क्षेत्रबाट चर्चित राष्ट्र्रिय कलाकार कुमार कट्टेल ‘जिग्री’ ले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
समाजसेवी तथा युवा अभियान्ताको रुपमा समेत चर्चित कलाकार कट्टेलले स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् । ‘स्वतन्त्र सरकार निर्माण गरौँ, भ्रष्टहरुलाई बिदाइ गरौँ’ भन्ने नारासहित नीति निर्माण तहमा सक्षम युवा आउनुपर्छ भनेर आफूले उम्मेदवारी दिन लागेको कट्टेलले बताएका छन् । आगामी मंसिर ४ गते देशैभर एकै चरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने निर्वाचन आयोगको तयारी छ ।