इटहरीः साथी फाउण्डेसन नेपाल र सक्षम युवा क्लबको संयुक्त आयोजनामा वराहक्षेत्रको जडेज माविको खेलमैदानमा आत्मरक्षा तथा मेरिटेसन तालीमको आयोजना गरिएको छ ।
‘महिला हिंसा अन्त्यको उत्तम विकल्प प्रतिरक्षाका लागि खेलकुद अबको आवश्यकता’ भन्ने मुख्य नाराका साथ कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रमको मुख्य उद्देश्य महिला हिंसा न्यूनीकरण रहेकोे क्लबकी अध्यक्ष रोहिता भट्टराईले बताइन् ।
बिहीबार जडेज मावि कालाबन्जरको खेलमैदानमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश नम्बर १ की उपसभामुख सरस्वती पोखरेल रहेकी थिइन् । कार्यक्रममा बोल्दै पोखरेलले लैङ्गिक हिंसा अन्त्यका लागि सबै बाट प्रतिबद्धता जाहेर भए पनि व्यवहारमा लागू हुन नसक्नु दुखद भएको बताइन् ।
विशिष्ट अतिथि प्रदेश सांसद उमिता बराइलीले प्रशिक्षण तथा चेतनामूलक कार्यक्रम धेरै भएको र त्यसले चेतना फैलाएको बताइन् । शारीरिक रूपमै कसरी प्रतिकार गर्ने भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हुनाले तालीम महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
कार्यक्रममा नेकपाका नेता अमित गौतम र जडेज माविका सहायक प्रधानाध्यापक योगराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य साथी फाउण्डेसन नेपालकी शान्ति गजमेरले राखेकी थिइन् । कार्यक्रमको सञ्चालन छबिना मगरले गरेकी थिइन् ।