इटहरीः सुनसरी क्षेत्र नम्बर ३ निर्वाचन क्षेत्रबाट ६ पटक निर्वाचित बनेका कांग्रेस नेता विजयकुमार गच्छादार पुनः प्रतिनिधिसभाको लागि उम्मेदवार सिफारिस भएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित गच्छदारलाई नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ बाट सर्वसम्मत सिफारिस गरेको हो ।
सुनसरी क्षेत्र नम्बर ३ को शनिबार बसेको बैठकले गच्छदारलाई सातौं पटक उम्मेदवार बन्न सिफारिस गरेको हो । गच्छदार २०४८ यताका ६ वटा निर्वाचनमा पटक पटक पार्टी परिवर्तन गरेर पनि उम्मेदवार बन्दै आएका हुन भने सोही क्षेत्रबाट निर्वाचित भएका छन् ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि निलम्बित उनी उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयले किनारा नपाउँदै नेपाली कांग्रेसले गच्छदारको एकल नाम सिफारिस गरेको छ ।
अदालतमा मुद्दा विचाराधीन रहे पनि आफूलाई चुनावमा उम्मेदवार बन्न नरोक्ने भन्दै गच्छदारले आफू नै चुनाव उठ्ने बताएका छन् । गच्छदारले जनादेशले आफूमाथि लागेको आरोप चिर्ने भन्दै पार्टीबाट उम्मेदवार बन्न पाउनुपर्ने प्रस्ताव राखेका थिए ।