इटहरीः मोरङको प्रदेश नम्बर ३ का सांसद राजकुमार ओझा आज बिहान १० बजे सुन्दरहरैंचाको सलकपुरमा रहेको इँटा उद्योगमा मसला हाल्दै थिए । उनलाई सघाइरहेका थिए कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईं ।

ओझा र चापागाईं इन्टरलक इँटा उद्योगका उद्घाटनको लागि भेला भएका थिए । सुन्दरहरैंचाका ४ जना व्यवसायीले सलकपुरमा स्थापना गरेको अरुण उपत्यका इन्टरलक इँटा उद्योगमा इँटा बनाएर सांसद ओझा र अध्यक्ष चापागाईंले आज उद्योग उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद ओझाले नयाँ प्रविधिको यो इँटा सबैले रुचाउनेमा आफू विश्वस्त भएको बताए । स्वदेशमै नयाँ उद्यम गर्नेका लागि यस्ता उद्योगले सहयोग गर्ने र साना व्यवसायीको उद्यम विकासको लागि आवश्यक पहल गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने उनले बताए । वातावरणमैत्री यस्ता उद्योगले अब व्यापकता पाउने उनको भनाइ थियो ।

उद्योग वाणिज्य सङ्घ कोशीहरैंचाका अध्यक्ष चापागाईंले जुनसुकै उद्योग सञ्चालनमा कुनै समस्या आएमा सङ्घ चुप लागेर नबस्ने बताए । सरकारको आर्थिक समृद्धिको सपनालाई साकार पार्न नयाँ र राम्रो बजारको सम्भावना भएको उद्योग धेरै खुल्नुपर्ने उनको भनाइ थियो ।

इको सेल इण्डस्ट्रिजका इञ्जिनियर विपिन प्रजापतिले इन्टरलक इँटाको महत्व र भवन निर्माण लागतमा यसले पार्ने असरको बारेमा बताएका थिए । यो इँटाको प्रयोगले कुनै पनि संरचना निर्माणमा ३० प्रतिशत लागत घटाउने बताए । सो इँटाको प्रयोग गरी बनाइएको भवनले ४ डिग्री तापक्रम सोस्ने हुनाले गर्मीमा अन्य भवनभन्दा शीतल र जाडोमा तातो हुने उनले जनाए ।

सुन्दरहरैंचाको वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाले नयाँ प्रविधिको र वातवारणमैत्री उद्योग आजको आवश्यकता भएको बताए । यस्ता उद्योगमा आएका समस्या समाधान गर्न स्थानीय तहले पहिलो प्राथमिकता दिने उनको भनाइ थियो ।

उद्योग सञ्चालक भीम रसाइलीले सञ्चालन गरेको कार्यक्रममा अर्का सञ्चालक दिल रसाइलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उद्योगी, समाजसेवी, जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

 

brick udghatan  (3) brick udghatan  (1) brick udghatan  (4)

 

inter lock brick (1)

arun upatyaka interlock ita