इटहरीः नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) ले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि बिहीबार बसेको क्षेत्र नम्बर २ (क) को बैठकले प्रदेश र प्रतिनिधिसभामा तीन तीन जनाको नाम सिफारिस गरेको हो । नेपाली कांग्रेसले प्रतिनिधिसभाको लागि राजीव ढुंगाना, राजीव कोइराला र सीताराम मेहताको नाम सिफारिस गरेको छ । सिफारिसमा परेका  ढुंगाना नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान सभापति हुन् भने कोइराला केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता छन् ।

यता सीताराम मेहता प्रतिनिधिसभाका वर्तमान सांसद तथा पूर्वराज्यमन्त्रीसमेत हुन् । समानुपातिकतर्फ भने दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस भएको छ । राई पार्टीका पूर्वकेन्द्रीय सदस्य हुन् भने कार्की इटहरीका पुराना नेता हुन् । यस्तै, प्रदेशसभाको प्रत्यक्षतर्फ उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल महाधिवेशन प्रतिनिधि विकास केसी र दोस्रो संविधानसभा सदस्यमा पराजित बनेका  बद्रीनारायण चौधरीको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभामा समानुपातिकतर्फ गीता श्रेष्ठ, सुबेक्छु देवान राई, नगेशचन्द्र राई, सूर्य राई, दामोदर दाहाल, केशवप्रसाद भट्टराई, बिमला शिवाकोटी ढकाल, बबिता चौधरी, रामप्रसाद विक र रमेश पोखरेलको नाम सिफारिस भएको छ ।