इटहरीः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सरकारले आगामी मंसिर ४ गतेलाई घोषणा गरेको छ ।
अहिले बिभिन्न राजनीतिक पार्टीहरु चुनावी अभियानमा होमिइसकेको छन् । सत्ता गठबन्धन गरेका पाँच राजनीतिक दलहरु आगामी चुनावमा पनि तालमेल गर्ने रणनीतिमा छन् भने एमाले र राप्रपा तथा अन्य दलहरुबीच पनि तालमेलको खबर बेलाबेला बाहिर आउने गरेको छ ।
आसन्न निर्वाचनलाई नै केन्द्रमा राखेर अघिल्लो संघीय निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ को मत परिणाम कस्तो थियो कसले कति मत ल्याएका थिए भन्ने सम्बन्धमा हामीले हाम्रा पाठकलाई जानकारी गराउने प्रयास गरेका छौँ । अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ बाट ६ राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।
चुनाव आउनुभन्दा केही समय पहिला मात्र संघीय समाजवादी फोरमबाट नेपाली कांग्रेसमा आएका विजयकुमार गच्छादारले टिकट पाएका थिए भने नेकपा एमालेबाट भगवति चौधरीले टिकट पाएकी थिइन् । यता संघीय समाजवादी फोरमका तर्फबाट पदमकुमार अधिकारी लडाइँमा थिए ।
यीनै तीन जना उम्मेदवारहरु उक्त निर्वाचनमा धेरै मत ल्याउने तीनमा आए । विजय निकालेका विजयकुमार गच्छादारले ३८ हजार ९ सय ७२ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी भगवति चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन् । प्रतिनिधिसभाको निर्वाचनमा भएको यो ठूलो प्रतिस्पर्धामा ३ सय २१ मतको मात्र फरक थियो । यस्तै तेस्रोमा रहेका पदमकुमार अधिकारीले १ हजार ८ सय ५४ मत पाएका थिए भने चौथोमा स्वतन्त्र उम्मेदवार मोहम्मत नसिरुद्धिन मिया थिए ।
मियाले १ हजार ६३ मत पाएका थिए भने राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार मनिषप्रसाद रौनियारले ४ सय ६५ मत, राष्ट्रिय जनमुक्ति पार्टी नेपालका विशेश्रवर यादवले १६५ मत र ग्रीन पार्टी नेपालका सन्तोष तिम्सिनाले ९७ मत पाएका थिए । यस्तै, स्वतन्त्र उम्मेदवार कृष्णकुमार सन्यासीले ७५ मत र अर्का स्वतन्त्र उम्मेदवार बिमलकुमार पौड्यालले ३८ मत ल्याएका थिए ।
आगामी निर्वाचनका लागि अहिले आआफ्नो पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गर्ने क्रम चलिरहेको छ । नेकपा एमाले एक्लै सत्ता हत्याउने दाउमा देखिन्छ भने गठबन्धन दलहरु साझा उम्मेदवार तय गरेर सत्ता आफ्नै पक्षमा पार्ने दाउमा लागेका छन् । यद्यपि उनीहरुबीच साझा उम्मेदवारमा सहमति हुन निकै ठूलो त्याग चाहिने देखिएको छ । साझा उम्मेदवार तय हुञ्जेलसम्म सबैले आआफ्नो पार्टीको तर्फबाट उम्मेदवार सिफारिस गरिरहेका छन् ।