इटहरीः इटहरी उपमहानगरपालिकाले पालिका र विभिन्न वडामा कार्यरत कर्मचारीको जिम्मेवारीमा व्यापक फेरबदल गरेको छ ।
उपमहानगरपालिकाले भदौ १० गते सूचना प्रकाशन गर्दै आन्तरिक कर्मचारीको जिम्मेवारी फेरबदल गरेको हो । नयाँ जिम्मेवारीअन्तर्गत वडा नम्बर २ की वडा सचिव सुलोचना पोख्रेललाई वडा नम्बर ३ को सचिवको जिम्मेवारी दिइएको छ भने वडा नम्बर ३ का सचिव खड्गबहादुर तामाङलाई १५ नम्बर वडा कार्यालयको सचिवको जिम्मेवारी दिइएको छ । यसैगरी, वडा नम्बर ४ का सचिव प्रोक्षण पोखरेललाई वडा नम्बर ६ को सचिवको जिम्मेवारी दिइएको छ भने वडा नम्बर ५ का सचिव अर्जुन सुवेदीलाई वडा नम्बर १९ मा पठाइएको छ । यता वडा नम्बर ७ का सचिव लोकेन्द्रप्रसाद घिमिरेलाई वडा नम्बर १४ को वडा सचिवको जिम्मेवारीमा खटाइएको छ ।
नगरपालिकाले वडा नम्बर ९ का वडासचिव चन्द्रदेवी चौलागाईँलाई वडा नम्बर ७ मा पठाएको छ भने वडा नम्बर १० की सचिव शर्मिला दाहाललाई ११ नम्बर वडामा खटाएको छ । त्यसैगरी ११ नम्बर वडाका सचिव नारायण सुवेदीलाई वडा नम्बर १६ को सचिवमा खटाइएको छ । नगरपालिकाले वडा नम्बर १२ की सचिव संगीता पोख्रेललाई सामाजिक विकास शाखामा ल्याएको छ भने वडा नम्बर १४ का सचिव किरण भटराईलाई वडा नम्बर २ मा पठाएको छ ।
त्यस्तै वडा नम्बर १२ का सचिव दिनेशृकुमार कार्कीलाई वडा नम्बर २० को सचिवमा खटाइको छ भने १६ नम्बर वडाका सचिव राजकुमार विश्वकर्मालाई १३ नम्बर वडामा लगिएको छ । यस्तै वडा नम्बर १७ का सचिव सञ्जिवकुमार खड्कालाई प्रशासन शाखामा ल्याइएको छ भने १९ नम्बर वडाका सचिव नेत्रप्रसाद न्यौपानेलाई वडा नम्बर १७ मा खटाइएको छ । यता १८ नम्बर वडाका सचिव मनोज दाहाललाई वडा नम्बर ९ मा पठाइएको छ ।
त्यसैगरी, वडा नम्बर २० का सचिव बालकुमार पोखरेललाई सहकारी शाखामा स्थानान्तरण गरिएको छ । उता शिक्षा, युवा तथा खेलकुद शाखाकी कुसुम पोखे्रल मगरलाईृ वडा नम्बर ४ को सचिवको जिम्मेवारी दिइएको छ भने आर्थिक प्रशासन शाखाका लिलामान तामाङलाई १२ नम्बर वडाको सचिवमा खटाइएको छ । यता नगरपालिकाले वडा नम्बर ६ को लेखा सहायक रहेका दीपक खड्कालाई १० नम्बर वडाको सचिव बनाएको छ भने सामाजिक शाखाकी अधिकृत माया राईलाई योजना तथा बजेट शाखामा पठाएको छ ।
त्यसैगरी, नगर कार्यपालिकामा कार्यरत लेखा अधिकृत लखनलाल चौधरीलाई आन्तरिक लेखापरीक्षण शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । यता नगरपालिकाको सहकारी शाखाका अधिकृत रेवती पोख्रेललाई भवन निर्माण अनुमति तथा मापदण्ड शाखामा खटाएको छ भने जिन्सी शाखा हेर्ने गणेशप्रसाद भटराईलाई मेसिनरी औजार व्यवस्थापन शाखामा र प्रेमा डाँगीलाई प्रशासनमा पठाइएको छ ।
नगरपालिकाले प्रशासन हेर्ने डम्बरबहादुर कार्कीलाई जिन्सी तथा सम्पत्ति व्यवस्थापन शाखाको जिम्मेवारी दिएको छ । प्रशासन शाखाकी कार्यालय सहयोगी सरिता गिरीलाई पनि सोही शाखामा तानिएको छ । गिरी वडा नम्बर ५ का वडा सदस्य गोपाल गिरीकी श्रीमती हुन् ।
यता राजश्व शाखाकी इन्दिरा कोइरालालाई प्रशासन शाखामा, नगरप्रमुख उपप्रमुखको सचिवालय हेरिरहेका महेशकुमार सुवेदीलाई टोल विकास समन्वय शाखाको समेत जिम्मेवारी थपिएको छ । यता भवन निर्माण अनुमति तथा मापदण्ड शाखाकी संगीता बुढाथोकीलाई पनि मेयर उपमेयरको सचिवालय र टोल विकास सम्वन्वय शाखामा तानिएको छ । यता वडा नम्बर ८ की सहायक पाँचौ तहकी कर्मचारी रिता सुव्वालाई वडा नम्बर १८ को सचिव बनाइएको छ ।
उपमहानगरपालिकाले सवारीसाधन उपलब्ध गराएकालाई पायक पने ठाउँमा सरुवा गरेको हो । साधन नै नभएकालाई भने दुर्गम ठाउँमा सरुवा गरेको हो । एउटा कोठाबाट अर्को कोठामा पनि सरुवा गरिएको छ । प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहता र मेयर हेमकर्ण पौडेलको सेटिङमा मालदार शाखाहरुमा आफूनिकट कमचारीलाई जिम्मेवारी दिएको कर्मचारी हेरफेरबाट असन्तुष्ट केही कर्मचारीहरुले आरोप लगाएका छन् ।
कर्मचारीको आरोपबारे जिज्ञासा राख्दा इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले कर्मचारीको सरुवा प्रक्रिया नियमित भएको बताए । केही कर्मचारी १ वर्ष र धेरै २ बर्षभन्दा बढी एउटै ठाउँमा काम गरीरहेका कर्मचारी भएकाले नगरको कामलाई उत्पादनमूलक बनाउन र कर्मचारीलाई प्रोत्साहित गर्न पनि कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको मेहताको जिकिर छ ।
कर्मचारीको जिम्मेवारी हेरफेर गर्दा सेटिङ भएको भनिनु भने गलत भएको मेहताले उल्लेख गरे । उनले स्थानीय सरकारमा नयाँ जनप्रतिनिधि आएपछि भएको पहिलो जिम्मेवारी हेरफेरले नगरको काम परिष्कृत हुनेसमेत बताए ।