धरानः नेकपा अनि एमाले विभाजनपछि बनेको गठबन्धन सरकारको सारथि नेकपा एकीकृत समाजवादी धरानबाट प्रदेशसभामा इन्ट्री लिन खोज्ने सम्भावित २ नेताहरू सुष्मा राई र रेवतीरमण राई छन् ।

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले मेयर पद जितेपछि धरानलाई देशैभरबाट निकै चासो दिएर हेरिएको छ । गठबन्धन सरकार कायम रहेको अवस्थामा उपमेयरमा गठबन्धनकै साझा उम्मेदवार माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघाले जितेका कारण पनि गठबन्धन दलमा आबद्ध पार्टीहरुले टिकटको लागि रस्साकस्सी गरिरहेका छन् । एमाले विभाजनपछि धरानमा निकै पछाडि गठन भएको नेकपा एकीकृत समाजवादीमा अनौठो इन्ट्री लिनेहरुमध्ये गठबन्धन हुँदा दुई जनामध्ये १ जना प्रदेशसभामा प्रवेश गर्ने सम्भावना रहेको छ । 

सुष्मा राई नेकपा एकीकृत समाजवादीको सुनसरी क्षेत्र न १ को ‘क’ बाट सिफारिस भएकामध्ये निकै राम्रो सम्भावना बोकेकी नेतृ सुष्मा राई हुन् । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्जको जिम्मेवारी सम्हालेर उनी बसेकी छन् । नेकपा एमाले मोरङको युवा संघबाट राजनीतिमा प्रवेश गरेकी राई प्रवासी युके समाजकी सल्लाहकारसमेत रहेकी थिइन् । रामप्रसाद राई फाउन्डेसनकी अध्यक्षसमेत रहेकी राई हाल पूर्वाधार बिकासको कामदेखि सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएकी छन् । धरान १३ मा बसोबास गर्दै ‘सरप्राइज इन्ट्री’ लिएर हाल नेकपा एकीकृत समाजवादीबाट प्रदेशसभामा प्रवेश गर्ने बलियो सम्भावना बोकेर अग्रपंक्तिमा उनी खटिरहेकी छन् ।

रेवतीरमण राई; नेकपा एकीकृत समाजवादीको सुनसरी क्षेत्र न १ को ‘ख’ बाट सिफारिस भएकामध्ये निकै राम्रो सम्भावना बोकेका उम्मेदवार रेवतीरमण राई हुन् । हाल नेकपा एकीकृत समाजवादीको जिल्ला सचिवालय सदस्य तथा धरान उपमहानगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेर उनी बसेका छन् । नेकपा एमाले भोजपुरको विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका राई तत्कालीन नेकपाको क्षेत्रीय कमिटी र जिल्ला कमिटीमा रहेर जिम्मेवारी सम्हालेका थिए । 

भोजपुर सुनसरी समाजको अध्यक्षसमेत रहेका राई हाल धरानमा ट्राफिक कार्यालय व्यवस्थापनदेखि सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन् । धरान १८ मा बसोबास गर्दै नेकपा एकीकृत समाजवादीमा अन्तिम चरणमा प्रवेश गरेर गठबन्धनको तर्फबाट प्रदेशसभामा प्रवेश गर्ने बलियो सम्भावना बोकेर अग्रपंक्तिमा उनी खटिरहेका छन् । गठबन्धन कायम हुँदा संघमा अशोक राईको सम्भावना देखिएपछि मुख्यमन्त्री एकीकृत समाजवादीका राजेन्द्रकुमार राई सुनसरी जिल्लाले सिफारिस गर्दागर्दै आफ्नो भोजपुरबाटै निर्वाचनमा सहभागी हुने विचार व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेस र माओवादी केन्द्र धरानबाट पनि प्रदेशसभामा सहभागी हुन निकै रस्साकस्सी चलिरहेको छ ।