इटहरीः प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ ले विभिन्न राजनीतिक पार्टीका खेलसम्बद्ध संगठनहरुसँग नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउने विषयमा छलफल गरेको छ ।
नवौँ राष्ट्रिय खेलको लागि जिल्ला छनौट सम्पन्न भएर प्रदेश छनौट प्रतियोगिताको तयारी भइरहेको समयमा प्रदेश छनौट प्रतियोगिता कसरी सफल बनाउने र कसरी प्रदेश १ मा खेलकुदलाई चलायमान बनाउँदै बढी मेडल ल्याउने भन्ने विषयमा छलफल केन्द्रित भएको प्रदेश नम्बर १ खेलकुद विकास बोर्डले जनाएको छ ।
बोर्डका सदस्यसचिव हंशराज वाग्लेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा क्षेत्रीय तथा प्रदेशस्तरीय खेलकुद संघ तथा संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । अखिल नेपाल खेलकुद महासंघ, खेलकुद महासंघ १ नम्बर प्रदेश, लोकतान्त्रिक खेलकुद संघ,नेपाल खेलकुद महासंघ, समाजवादी खेलकुद संघजस्ता संगठनका क्षेत्रीय प्रतिनिधि सहितको भेलाले नवौँ राष्ट्रिय खेलमा १ नम्बर प्रदेशको सहभागितालाई विशेष महत्वका साथ सहयोग गर्ने निर्णय गरेको छ ।
यस्तै प्रदेश नम्बर १ को छनौट प्रतियोगिताका लागि प्रदेश छनौट समितिले जिल्लाहरुलाई पठाएको खेलाडी कोटामा अनुभवी तथा पूर्वराष्ट्रिय खेलाडीहरु छुट्न गएको भन्दै केही खेलाडीलाई छनौट प्रतियोगितामा समावेश गर्न दिने तथा तिनको खेलका केही कोटा थप गर्ने निर्णयसमेत गरिएको बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिएका छन् ।
छलफलमा प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका संयोजक वसन्त अर्याल, अखिल नेपाल खेलकुद संगठनका इन्चार्ज किरण गिरी, खेलकुद महासंघका प्रदेश नम्बर १ इन्चार्ज सन्तोष बान्तावा र नेपाल लोकतान्त्रिक खेकलुद संघका सचिव अनुज बानियाको उपस्थिथि रहेको थियो भने प्रदेश खेलकुद विकास बोर्डको तर्फबाट बोर्ड सदस्य शैलेशकुमार बिष्ट, पदीपराज भगत, रोशनी राई, बिप्लब घोष, थलु राजभण्डारी, भेषराज कार्कीका साथै क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख चण्डिका बास्तोला, नवौँ खेलकुद प्रतियोगिताका सचिवालय सचिव टंक कटेल तथा प्राविधिक संयोजक विमल पोखरेल उपस्थित थिए ।