इटहरीः नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाको पार्टी कार्यालयमा पार्टीका इटहरी उपमहानगर समितिका उपसभापति बालकृष्ण बिष्टको समुहले तालाबन्दी गरेको छ । 

सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेपाली कांग्रेस इटहरी नगर समितिका उपसभापति बिष्टले स्वेच्छाचारी रुपमा अवैधानिक नियुक्ति गरिएको भन्दै नियुक्ति बदर गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । 

मंगलबार बिहान कांग्रेस इटहरीका उपसभापति बालकृष्ण बिष्टको नेतृत्वमा भेला भएका कार्यकर्ताले पार्टी कार्यालयमा तालबन्दी गरेका हुन् ।

300450472_382657640699365_6125221969087284889_n

बिष्टका अनुसार इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले उपसभापति कोविदजंग कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिएको र कार्यवहकले विधानविपरीत गरेका मनोनयनहरु तत्काल फिर्ता हुनुपर्ने माग गरिएको छ ।

पार्टी विधिबमोजिम सञ्चालन नभएको तथा हालसम्म पार्टीले स्थानीय चुनावी समीक्षा नगरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको पार्टीका उपसभापति बिष्टले बताएका छन् । 

पार्टीको १४ औँ महाधिवेशन सम्पन्न भएको र स्थानीय तहको निर्वाचन सकिएपनि अहिलेसम्म एउटा समीक्षा बैठकसम्म नभएको, मेयरमा पार्टीले जित हासिल गरेपनि ०७४ सालमा जितेका वडाहरू पनि अन्तर्घातका कारण हारेको र समीक्षा बैठक पनि हुनुपर्छ भनेर पटकपटक पदाधिकारीले बैठक राखौँ भन्दा पनि बैठक नबसकेको बिष्टको भनाइ छ । 

उनले इटहरीका २० वटै वडाका नेता, कार्यकर्ताहरूलाई बोलाएर समीक्षा बैठक राख्नुपर्ने भएपनि स्थानीय निर्वाचन भएको चार महिना बित्न लाग्दा पनि नेतृत्वले वास्ता नगरेको आरोप लगाउँदै असन्तुष्टि जनाएका थिए । 

गत असार २ गते मात्र नगरका कार्यवाहक सभापति कार्कीले विधानविपरीत कोषाध्यक्ष नियुक्त गरेको समेत उनको आरोप छ । पार्टीको नगर बैठक तत्काल बस्नुपर्ने मागसहित आफूहरूले अनिश्तिकालका लागि तालाबन्दी गरेको बिष्टले बताएका छन् ।