इटहरीः एउटा भिडियो अन्तरवार्तामा इन्जिनियरलाई गाली गरेकोे भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी सङ्गठनले धरानका मेयर हर्क साम्पाङको राजीनामा माग गरेको छ ।
’इन्जिनियर राजनीतिमा आउने हैन इन्जिनियरिङ पेसामै रहने हो’ भन्दै मेयर साम्पाङले बोलेको वाक्य केही दिन पहिले एउटा युट्युब च्यानलमा प्रसारण भएपछि विद्यार्थी संगठनले विरोध जनाएका हुन् ।
काठमाडौँका मेयर बालेन्द्र शाहतर्फ लक्षित उनको उक्त अभिव्यक्तिप्रति पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान एकाईका अध्यक्ष आभास अधिकारीले आपत्ति जनाउँदै विज्ञप्तिमार्फत् मेयर साम्पाङको राजीनामा माग गरेका हुन् ।
साम्पाङले सामाजिक सञ्जालमा अत्यधिक दम्भ र आफूबाहेक अरू कोही पनि सक्षम नरहेको आशयका पोस्ट गरिरहेको भन्दै तत्काल राजीनामा नदिए कडा आन्दोलनमा उत्रिने विज्ञप्तिमा चेतावनी दिइएको छ ।