इटहरीः मङ्सिर ४ गते हुने संघको निर्वाचनमा सुनसरी क्षेत्र न १ बाट १ न प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई र केन्द्रीय सदस्य जीवन राईको नाम प्रत्यक्षमा सिफारिस गरिएको छ ।

समानुपातिक तर्फबाट लक्षमण चौधरी, आनन्द श्रेष्ठ, पद्मा सुब्बा र तारा लामगादेको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेशसभा (क) तर्फबाट केन्द्रीय सदस्य सुष्मा राई र प्रदेश सदस्य तारा लामगादेको नाम प्रत्यक्षतर्फ र समानुपातिकमा सुष्मा राई, सविता कोइराला, स्वर्णिमहाङ्ग लिम्बू र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा (ख) तर्फबाट रेवतीरमण राई धरान अध्यक्ष र चन्द्र थापामगर बराह नगर अध्यक्षको नाम प्रत्यक्षमा र समानुपातिकमा क्रमशः श्यामनारायण राजधामी, दुर्गादेवी बुढाथोकी र अम्रिता रामदामको नाम सिफारिस गरिएको छ ।

१० गते शुक्रबार धरानको पार्टी कार्यालयमा क्षेत्रको बैठक बस्दै उम्मेदवारको नाम सिफारिस कार्यक्रम आयोजना गरिएको हो । वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा गठबन्धनले धरानमा धोका दिएका कारण चित्तबुझ्दो तालमेल नभए नेकपा एकीकृत समाजवादीले सुनसरी क्षेत्र न १ मा सबै उम्मेदवार उठाउने भएको छ । 

गत स्थानीय निर्वाचनमा गठबन्धनमा एउटै मात्र वडा धरान ४ मा अध्यक्षको उम्मेदवार उठाएको नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रको छुट्टै उम्मेदवार उठाएर घात गरेको, तालमेल गरेर एउटै चुनाव चिह्नमा उठ्दा पनि धरान ११ मा घात गरेको प्रमाण र निष्कर्ष निकाल्दै फेरि तालमेल राम्रोसँग नगरे सबै तहको उम्मेदवारी दिने सुनसरी क्षेत्र न १ संयोजक कैलाश अग्रवालले बताए ।