काँकरभिट्टाः जनसङ्ख्या तथा भौगोलिक दृष्टिकोणले झापाका अन्य स्थानीय तहभन्दा ठूलो मानिएको मेचीनगर नगरपालिका बिहीबारदेखि खुला दिसामुक्त नगर घोषणा भएको छ ।

नगरपालिकाले ६ नम्बर वडा कार्यालय परिसरमा आयोजना गरेको खुला दिसामुक्त घोषणा सभामा जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले मेचीनगरलाई खुला दिसामुक्त नगर घोषणा गरेका थिए ।

खुला दिसामुक्त नगर घोषणाको लागि जिल्ला सरसफाइ स्वच्छता समन्वय समितिले गुणस्तर र शौचालयको अवस्था अध्ययन गरी घोषणा अनुमति प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।

मेचीनगरमा २०६९ सालबाट एक घर एक शौचालयको अभियान अघि सारिएको थियो । बढ्दो बसाइँसराइँ र विपन्न परिवारको चर्पी निर्माणमा सचेतनाको कमीजस्ता विषयले समयमै नगरलाई खुला दिसामुक्त नगर घोषणा गर्न समय लागेको उपप्रमुख मीना पोखरेल उप्रेतीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।