विराटनगरः नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ संस्कृती संरक्षणसँगै रचनात्मक काममा अग्रसर बनेको छ ।
महासंघले हिन्दु महिलाहरुले मनाउने महान पर्व तिजको अवसरमा शुभकामना आदानप्रदान, नृत्य प्रतियोगितासँगै महिलाहरुलाई माला र सजावटका सामग्री बनाउने एक दिने तालिम प्रदान गरेको हो । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ, महिला उद्यम समितिले तिजको अवसर पारेर बिहीबार विराटनगरमा महिलाहरुलाई माला र सजावटका सामग्री बनाउने तालिम दिएको हो ।
महिलाहरुलाई आर्थिक रुपमा सबल र उद्यमी बनाउन फ्रेब्रिकबाट माला र सजावटका सामग्री बनाउने एक दिने तालिम प्रदान गरिएको महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।
महासंघले प्रत्येक वर्ष तिज पर्वको अवसरमा यस्तै रचनात्मक कार्य गर्दै आएको छ । यो वर्ष महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको अध्यक्ष निरौलाले बताए । तालिममा मोरङका सबै स्थानीय तहबाट ६५ जना महिलाहरुको सहभागिता रहेको उनले बताए । सो तालिममा अपाङ्गता भएका परिवारका १५ जना महिला सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
विराटनगर बरगाछि उत्तरपट्टि रहेको इन्द्रेणी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसमेत गरेर तिज पर्व मनाइएको छ । तिज पर्वको अवसरमा महासंघमा आबद्ध उद्यमी महिलाहरुबीच शुभकामना आदानप्रदानका साथै, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत गरिएको महिला उद्यम समितिका अध्यक्ष सुनिता छाराहाङले जानकारी दिइन् ।
सो अबसरमा आयोजना गरिएको नृत्य प्रतियोगितामा उषा भट्टराई प्रथम, सँस्कृति थापा द्वित्तीय र प्रस्तुति खतिवडा तृतीय भएका थिए । प्रतियोगितामा उत्कृष्ट तीन जना र माला बनाउने तालिममा उत्कृष्ट सयपत्री महिला समुहलाई नगदसहित पुरस्कृत गरिएको अध्यक्ष निरौलाले जानकारी दिए ।
प्रतियोगितामा २१ जना महिलाहरुले सहभागिता जनाएका थिए । सो अवसरमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्की, महासंघ प्रदेश १ की अध्यक्ष अञ्जु उपाध्याय, उपाध्यक्ष लिलादेवी रिजाल, केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय (शिवा), सुनसरी अध्यक्ष रविन गौतमलगायत विभिन्न संघ संगठनका प्रतिनिधिको उपस्थिति थियो ।