इटहरीः नेकपा एकीकृत समाजवादीले आगामी मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि सुनसरी क्षेत्र नम्बर २ मा तीन जनालाई उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
भदौ ६ गते सोमबार बसेको २ नम्बर निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले धर्मराज निरौला, कालिप्रसाद सापकोटा र सरस्वती लुइँटेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस गर्दैै जिल्ला कमिटीलाई जिम्मा लगाएको हो । २ नम्बर क्षेत्र समन्वय कमिटीका संयोजक सुन्दरमणि राईको संयोजकत्वमा बसेको बैठकले तीन जनाको नाम सिफारिस गरेर जिल्लामा पठाएको हो ।
नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सचिवालय सदस्य शम्भु आचार्यको सभापतित्वमा बसेको बैठकमा सुनसरी जिल्ला कमिटि अध्यक्ष गोविन्द्र निरौला विशिष्ट अतिथिको रुपमा उपस्थित थिए ।
त्यसैगरी, सुनसरी जिल्लाको प्रदेशसभाको (क) का लागि पार्टीको इटहरी नगर कमिटिका सहइन्चार्ज रमेश खत्रीको चर्चा सुरु भएको छ । यद्यपि पार्टी कमिटिको बैठक बस्ने क्रममा रहेकाले आधिकारिक रुपमा सत्यतथ्य बाहिर आएको भने छैन ।