खाँदबारीः नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताको लागि संखुवासभाले १३ वटा खेलमा आफ्नो छनौट सम्पन्न गरेको छ ।
पौडी र टेबल टेनिसबाहेक सबै खेलको जिल्ला छनौट भइसकेको जिल्ला खेलकुद विकास समिति संखुवासभाकी उपाध्यक्ष कल्पना मगरले बताइन् । संखुवासभाले टेबल टेनिसको छनौट भदौ १० गते राखिएको उपाध्यक्ष मगरले बताइन् । पौडीको खेलाडी छनौटको लागि उपयुक्त पौडी पोखरी नहुँदा हुन नसकेको र बाँकी खेलमा छनौट भइसकेको मगरले जानकारी दिएकी छन् ।
संखुवासभाले नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगितामा आफ्नो जिल्लाबाट १५ वटा खेलमा सहभागिता जनाउने गरी खेलाडीको विवरण संकलन गरेर छनौट थालेको थियो । जिल्लाबाट प्रदेश छनौट प्रतियोगितामा भाग लिन २ सय २४ जना खेलाडी आउने छन् भने त्यसबाट छनौट भएका खेलाडीले असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगितामा भाग लिनेछन् ।