इलामः आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्र्रिय खेलकुद प्रतियोगिताका लागि इलाम जिल्लाले १७ वटा विधामा प्रतिस्पर्धाका लागि सहभागिता जनाउने भएको छ । 

जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाका अनुसार १७ मध्ये १३ वटा खेलको जिल्ला छनौट भइसकेको छ भने ४ वटा खेलको जिल्ला छनौट बाँकी छ । 

मंगलबार भएको तेक्वान्दो तर्फको छनौट खेलमा १५० जना, पुरुष फुटबलमा ३ सय ५० र महिला फुटबलमा १७५ जना खेलाडीले भाग लिएका थिए । जिल्ला खेलकुद विकास समितिले जिल्लाको इलाम, सुर्योदय र चुलाचुलीमा खेल प्रतियोगिताहरु आयोजना गरेर जिल्ला छनौट गरिरहेको अध्यक्ष बास्तोलाले बताए । 

खेलप्रति खेलाडीको उत्साह राम्रो भएको भएता पनि बजेट भने कम भएको पाइएको छ । जिल्ला छनौट सकिन लाग्दासमेत इलाम जिल्लाले मंगलबार मात्र छनौटको केही बजेट प्राप्त गर्ने बताएको छ । नवौँ राष्ट्र्रिय खेलकुदको लागि जिल्ला छनौटमा १ हजार ३५० जना खेलाडीले फाराम भरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ ले भदौ १० गतेसम्म जिल्ला छनौट गर्ने भन्ने तालिका सार्वजनिक गरेको भएता पनि इलामले भने भोलि बुधबार सम्ममा जिल्ला छनौट गरिसक्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।