इटहरीः समाजसेवी तथा इटहरीको गंगा जमुना मुक्ति घाटको संकल्पकर्ता हेमप्रसाद घिमिरेले आगामी मंसिर ४ गतेको निर्वाचनमा सुनसरीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिने भएका छन् ।
आफू राजनीतिमा लाग्ने चेष्टाले नभई अहिले भइरहेको राजनीतिक खेलप्रति वाक्क भएर उम्मेदवारी दिने सोचमा पुगेको घिमिरेले बताएका छन् । ‘ हाम्रो राजनीतिमा जाने सोच वा सोख केही पनि होइन । यो बाध्यता हो । सबैले श्रीलंका, श्रीलंका भन्छन्, अब यस्तै अवस्था रहिरहने हो भने नेपाल श्रीलंकाको अवस्थामा पुग्न धेरै समय लाग्दैन । त्यही भएर केहि परिवर्तन गरौँ भन्ने हिसाबले आफूले नै उम्मेदवारी दिन लागेको हुँ ।’ हेमप्रसादले प्रदेश पोर्टललाई भने ।
अहिलेका नेताहरु तथा नेतृत्व लिइरहेकाहरु ‘आउट डेटेड’ भएका कारण नयाँ अनुहारहरुलाई ल्याउन आफ”ले जमर्को कसेको उनले बताए । आफू हालसम्म कुनै पनि राजनीतिक दलको सदस्य नभएको बताउने घिमिरेले स्वतन्त्र तर्फबाट प्रतिनिधिसभा सदस्यको लागि सुनसरीबाट उम्मेदवारी दिने बताए । स्वतन्त्र अभियानमा पनि युवाहरुले उम्मेदवारी घोषणा गरिरहेको अवस्थामा उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ जाने योजना भने आफ्नो नभएको बताए । किसान परिवारमा हुर्किएर कृषि औजारकै व्यवसायमा होमिएका घिमिरे अहिलेका राजनीतिक दलप्रति वितृष्णा पैदा भएका कारण राजनीतिमा नयाँ पुस्ताको आगमन हुनुपर्ने भन्दै आफूले उम्मेदवारी दिने सोच बनाएको बताउँछन् ।
कृषि प्रधान देशमा चामलसमेत आयात गर्नुपर्ने कुरा दुःखद भएको घिमिरेले बताए । हामीसँग उपलब्ध कृषिजन्य जमिनलाई प्रशस्त मल उपलब्ध गराउने हो भने हामी कृषिमा आत्मनिर्भर हुन सक्छौँ भन्दै कृषि क्रान्ति, भ्रष्ट्राचारको विरोध तथा आर्थिक पारदर्शिताको मद्दा बोकेर चुनावमा होमिन लागेको प्रदेश पोर्टलसँगको कुराकानीमा घिमिरेले बताए । जनताले तिरेको करबाट तलबभत्ता लिने अनि विदेशी दाताबाट आएको विकास बजेटमा समेत कमिसन खाने अहिलेका नेताले देशलाई भड्खालोमा हाल्न लागेकोले त्यसतर्फ चिन्तित हुँदै अघि बढ्नुको विकल्प नरहेको हेमप्रसादको भनाइ छ । ‘कम्तिमा आठ दश जना पुराना नेतालाई हराउनुपर्छ । उनीहरु नयाँ टेक्नोलोजीसँग पनि परिचित छैनन् । उनीहरुले अहिले पनि जनतालाई भेडाबाख्राजस्तै सम्झिरहेका छन् ।’ घिमिरेले भने ।
तर दलमा पनि केही राम्रा नेताहरु भए उनीहरुले पनि जित्नुपर्ने र मिलेर देशको विकासको पक्षमा लाग्नुपर्ने बताउँदै घिमिरेले राजनीति फोहोरी खेल हो भन्ने जान्दाजान्दै पनि त्यो फोहोरलाई सफा गर्न पोखरीमा पस्नुको विकल्प नरहेको सुनाए । आफ” लामो समयदेखि कृषिमा आबद्ध रहेकाले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सक्ने ‘भिजन’ आफूसँग भएको बताउने हेमप्रसाद इटहरीमा एउटा राम्रो अस्पताल बनाउँछु हामीलाई जग्गा दिनुहोस भन्दै जाँदा स्थानीय सरकारबाटै असहयोग भएपछि एक पटक राजनीतिमा आउन मन लागेको बताउँछन् । इटहरीको गंगा जमुना मुक्ति घाटको योजना ल्याउने वृहत्तर मुक्ति धामका अध्यक्षसमेत रहेका घिमिरे अहिले कृष्ण प्रणामी मन्दिरको नजिकै १५ शैयाको प्राणनाथ अस्पताल बनाइरहेका छन् । आगामी चैत महिनामा हस्पिटलको उद्घाटन गर्ने सोचका साथ अघि बढिरहेका घिमिरेलाई सहयोग गर्नेहरु पनि उत्तिकै छन् ।
देशैभरि ५ वटा धाम, १२५ वटा मन्दिर र हरेक प्रदेशमा एक एक वटा गुरुकुल स्थापना गर्ने लक्ष्य घिमिरे आबद्ध रहेको प्रणामी समाजले राखेको छ । सबै प्रदेशमा एकएक वटा निजी विद्यालय खोल्ने क्रममा इलामको मेलबोटे र उदयपुरको कटारीमा विद्यालय स्थापना गरिसकेको हेमप्रसादले हामीलाई सुनाए । अब इटहरी र आसपासमा रथ सहितको शव वाहन बनाएर सेवा प्रदान गर्ने उद्देश्य रहेको हेमप्रसाद सुनाउँछन् । उनका अनुसार अबको १ महिनामा शव वाहन आइपुग्ने र त्यसमा रथको डिजाइन बनाउन केही समय खर्चिएपछि रथारोहण सुरु गरिनेछ । समाजसेवामा अग्रणी भ”मिका निर्वाह गरिरहेका हेमप्रसाद प्रतिनिधिसभाको आगामी निर्वाचनमा सुनसरीको एउटा क्षेत्रबाट प्रतिनिधित्व गर्ने बताएका छन् । तथापि कुन क्षेत्रबाट आफ्नो उम्मेदवारी रहने भन्ने भने अहिले टुङ्गो नलागेको हेमप्रसादको भनाइ छ । आफू विजयी भएको खण्डमा सरकारले दिने कुनै पनि सेवा सुविधासमेत नलिने घिमिरेको घोषणा छ ।