भोजपुरः भूकम्पपछिको पुनःनिर्माणका कामलाई अझ प्रभावकारी बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र भोजपुर तथा खोटाङका स्थानीय तहबीच समझदारी भएको छ ।
भोजपुरमा ९ वटा स्थानीयतहबीच १० बुँदे र खोटाङका स्थानीय तहबीच ११ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पुनःनिर्माणको कार्यमा समन्वय एवं सहयोग आदानप्रदान गर्न गरिएको समझदारी पत्रमा प्राधिकरणका तर्फबाट भोजपुर जिल्ला कार्यान्वयन एकाइ आयोजना प्रमुख राजनराज रेडीले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर पत्रमा नगरपालिका, गाउँपालिकाभन्दा अन्यत्र सरुवा गर्दा स्थानीय तहको सहमति लिइने उल्लेख छ । त्यस्तै, सम्बन्धित वडाध्यक्षको सिफारिशमा नगरपालिका, गाउँपालिका प्रमुख, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले हाजिरी प्रमाणित गरेका आधारमा जिल्लास्तरीय एकाइले तलब भत्ता उपलब्ध गराउने पनि जनाइएको छ ।
नगरपालिका, गाउँपालिकाले प्राधिकरणबाट खटिएका जनशक्तिलाई पुनःनिर्माणको काममा मात्रै लगाउनुपर्ने, स्थानीय तहमा प्राधिकरणबाट खटिएका जनशक्तिलाई प्राधिकरणले मसलन्द खर्चका लागि आवश्यक पर्ने बजेट एकमुष्ट उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ ।
प्राधिकरणका प्रमुख कार्यकारी सदस्य विष्णुबहादुर भण्डारीले सहमतिअनुसार प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनःनिर्माणको काममा खटाइने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका र गाउँपालिकाको हुने बताए ।
उता, खोटाङमा पनि स्थानीय तहका जनप्रतिनिधि र प्राधिकरणका आयोजना प्रमुखबीच ११ बुँदे समझदारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले बताए ।
दुई पक्षीय समझदारीपछि जिल्लामा हुने हरेक भूकम्पपछिको पुनःनिर्माणका गतिविधि स्थानीय तहको निगरानीमा हुने भएको छ । कर्मचारी खटनपटन, व्यवस्थापन, सिफारिश, हाजिरी प्रमाणितलगायतका काम स्थानीय तहका जनप्रतिनिधिको निगरानीमा हुने समझदारीपत्रमा उल्लेख गरिएको छ ।
निजी आवास पुनःनिर्माणसम्बन्धी तथ्याङ्क, अभिलेख, दस्तावेज, प्राधिकरणबाट क्रमशः नगरपालिका÷गाउँपालिकामा हस्तान्तरण गरिने, हस्तान्तरण गर्दा लाग्ने खर्च, जनशक्ति र उपकरण प्राधिकरणले उपलब्ध गराउने पनि समझदारीपत्रमा उल्लेख छ ।