इनरुवाः सुनसरीमा सत्ता गठबन्धनविरुद्ध एक्लै चुनावी मैदानमा उत्रिने तयारीमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र प्रतिनिधिसभा र प्रदेशसभाका लागि सासंदका उम्मेदवार बन्ने चार दर्जन आकाक्षीहरुले लबिङका लागि दौडधुप सुरु गरेका छन् ।

निर्वाचनको दिन आउन ९२ दिन बाँक रहँदा एमाले सुनसरी भित्र चार वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा सांसद पदका लागि उम्मेदवार बन्ने आकांक्षीहरुले जिल्लादेखि केन्द्रसम्म आफ्नो दौडधुपलाई तीव्र बनाएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा गरी १२ पदका लागि अहिले तीन दर्जन आकांक्षी नेताहरुले लविङ तीव्र बनाएका हुन् । उनीहरु अहिले तल्लो कमिटीबाट आफ्नो नाम चर्चामा ल्याउन र माथिल्लो नेताहरुसँग लविङ गर्न लागिपरेका हुन् । एमाले स्रोतका अनुसार सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सांसदका लागि अहिलेका सांसद जयकुमार राई, एमाले स्थायी कमिटी सदस्य भीम आचार्य र प्रदेश १ सभाका सभामुख प्रदीप भण्डारी आकांक्षी देखिएका छन् ।

त्यसैगरी प्रदेशसभा १ क तर्फ रमेश बस्नेत र मोतिराज सुनुवार आकांक्षी देखिएका छन् । प्रदेशसभा १ ख बाट विजय राई, योग्यराज खड्का, नन्द बस्नेत र गणेश गुरागार्इँ आकांक्षी देखिएका छन् । त्यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा एमाले सँस्थापन पक्ष भित्रका मुख्य नेता खेमराज पोखरेल प्रमुख दाबेदारका रुपमा देखिएका छन् । उनलाई एमाले स्थायी कमिटी सदस्य भीम आचार्य लगायतका अन्य नेताहरुको समर्थन रहेको बताइन्छ । यसै क्षेत्रका सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीसमेत आकांक्षी देखिएका छन् । अर्का नेता डम्बर सुवेदी र प्रदेश सांसद लिलम बस्नेत पनि आकांक्षी छन् । सुवेदी माओवादीबाट एमालेमा आएका नेता हुन् । उनी नेता रामबहादुर थापा –बादल) निकट नेता हुन् ।

यो क्षेत्र स्थायी कमिटी सदस्य भीम आचार्यको समेत गृह क्षेत्र भएकोले उम्मेदवार व्यवस्थापनमा सकस भए उनी आफैँ पनि उम्मेदवार बन्ने सम्भावना रहेको बताइन्छ । यो क्षेत्रको प्रदेशसभा क मा रामप्रसाद चौलागार्इँ, द्वारिकलाल चौधरी र राम कोइरालाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । प्रदेशसभा ख मा भने यसअघि उम्मेदवार बनेका रामप्रसाद मेहता नै उम्मेदवार बन्ने निश्चितजस्तै रहेको एमाले नेताहरुले बताइरहँदा त्यहाँ पनि जिल्ला सचिव पर्शुराम यादव, देवानन्द मेहता र ताहिर अन्सारीको पनि दाबी देखिएको छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट दुई पटक पराजित भएकी भगवति चौधरीलाई पुनः तेस्रो पटकको लागि निरन्तरता दिने निश्चितजस्तै रहेको एमाले नेताहरु बताउँछन् । सो क्षेत्रको प्रदेशसभा क तर्फ लिलम बस्नेत, तैयब हुसैन र रोहित कार्कीको नाम चर्चामा छ ।

तर नेपाली कांग्रेसबाट रुष्ट बनेर अलग बसिरहेको प्रदीप चौधरी समूहलाई साथमा लिएर जाने स्थिति बनेमा सो प्रदेशसभामा चौधरी समूहकै उम्मेदवार बन्ने सम्भावना रहेको एक एमाले शीर्ष नेताले बताए । सो क्षेत्रको प्रदेश ख मा रामदेव यादव र बालेश्वर चौधरीको नाम चर्चामा छ । त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मुलुककै चर्चित क्षेत्र बन्ने देखिएको छ । त्यहाँ नेपाली कांग्रेसबाट सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दोहो¥याउने निश्चितप्रायः देखिदा एमाले उनको उम्मेदवारीलाई दह्रो चुनौती दिनेगरी जिल्ला बाहिरबाट नेता ल्याएर उम्मेदवार बनाउने तयारी गरिरहेको छ । एमाले स्रोतका अनुसार कार्कीलाई सबै क्षेत्रबाट चुनौती दिन सक्नेगरी बी एण्ड सी मेडिकल कलेज बिर्तामोडका सञ्चालक एवम एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसार्इँ र देशकै चर्चित व्यापारी विराटनगर घर भएका मोति दुगडमध्ये एकलाई उम्मेदवार बनाउने तयारी रहेको छ ।

सुनसरी क्षेत्र नम्बर ४ सँधै पैसाको प्रभावमा पर्दै आएको क्षेत्र भएको र यहाँ स्थानीयभन्दा सँधै बाहिरकै उम्मेदवारले जित्दै आएकोले एमालेले सबै शक्ति परिचालन गर्न सक्ने उम्मेदवार बनाउन लागेको हो । त्यहाँ एमालेका पुराना नेता जगदीशप्रसाद कुसियतसमेत आकांक्षी रहेका छन् । कुसियतले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले छाडेको क्षेत्रमा उनका उत्तराधिकारी प्रकाश कोइरालालाई हराएर चर्चा कमाएका थिए । सो क्षेत्रको प्रदेशसभा क मा तोया खनाल, बद्रीनाथ घिमिरे, कमलेश्वरी खेरवार र कोषराज भट्टराईको दाबी देखिएको छ भने प्रदेशसभा ख मा इनरुवाका आदिवासी जनजाति समुदायका नेता कालुराम गुरुङको प्रमुख दाबेदारी देखिएको छ । यद्यपि त्यहाँ गुरुङसँगै २ नम्बर निर्वाचन क्षेत्रका नेताहरु पर्शुराम यादव, ताहिर अन्सारीसमेत आकांक्षी रहेका छन् । यसैगरी घुस्की घर भएका एमाले जिल्ला सदस्य अक्रम आलमसमेत आकांक्षी देखिएका छन् ।