इटहरीः आइतबारदेखि काठमाडौँ भ्रमणमा रहेका धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

भेटका क्रममा धरानको विकाससँगै समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ । खानेपानीको मुख्य मुद्दा बोकेर उपमेयर र गठबन्धन दलको संयन्त्र सहितका नेतासँग राजधानी पुगेका मेयर साम्पाङ्गले विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै जनतालाई पानी ख्वाउनुपर्ने जिम्मा सरकारको भएको समेत बताए ।

जहिले पनि खानेपानीको मुद्दा बोकेर चुनाव लड्नुपर्ने भन्दै मेयर साम्पाङ्गले अब अर्को कार्यकालमा खानेपानीको मुद्दा बनाएर चुनाव लड्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । आफू पनि खानेपानीको मुद्दा बोकेर मेयर बनेको र योभन्दा पहिला तिलक राई पनि खानेपानीकै मुद्दा बोकेर चुनाव लडेको मेयर साम्पाङ्गले बताए । कोसी नदीको पानी चतराबाट धरानमा लैजानका लागि त्यही मुद्दा बोकेर आफू काठमाडौँ पुगेको साम्पाङ्गले बताएका छन् ।