इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले चुनावताका आफूले पाँच हजार बिरुवा रोप्ने वाचा गरेकोमा अहिलेसम्म ६ लाख बिरुवा रोपिसकेको बताएका छन् । 

खानेपानीको मुख्य मुद्दा बोकेर उपमेयर र गठबन्धन दलको संयन्त्र सहितका नेतासँग राजधानी पुगेका मेयर साम्पाङ्गले विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै जनतालाई पानी ख्वाउनुपर्ने जिम्मा सरकारको भएको समेत बताए । जहिले पनि खानेपानीको मुद्दा बोकेर चुनाव लड्नुपर्ने भन्दै मेयर साम्पाङ्गले अब अर्को कार्यकालमा खानेपानीको मुद्दा बनाएर चुनाव लड्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए । आफू पनि खानेपानीको मुद्दा बोकेर मेयर बनेको र योभन्दा पहिला तिलक राई पनि खानेपानीकै मुद्दा बोकेर चुनाव लडेको मेयर साम्पाङ्गले बताए । कोसी नदीको पानी चतराबाट धरानमा लैजानका लागि त्यही मुद्दा बोकेर आफू काठमाडौँ  पुगेको साम्पाङ्गले बताएका छन् ।

‘खानेपानी मन्त्री बनेर बस्ने, खादा र माला लगाएर हिँड्ने अनि हामीचाहिँ खानेपानीको आन्दोलन गर्नुपर्ने’ भन्दै खानेपानी मन्त्रीलाई साम्पाङ्गले छेडखानीसमेत गरे ।  अब मुलुकका ठूला नेताहरु केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुरहरु पनि धरानमा श्रमदान गर्न आउनुपर्ने उनको भनाइ थियो । आफूले श्रमदानका लागि ठूला नेतालाई पनि बोलाएको मेयरले बताए । ‘आउनुभयो भने आधा घण्टा बेल्चा हान्न लगाउँछु ।’ धरानको विकासको लागि राजधानीमा डेलिगेसन गएकै बेला मेयर साम्पाङ्गले अहिलेसम्म धरानमा ६ लाखजति बिरुवा रोपिसकिएको बताउँदै जनताहरु आफूलाई साथ दिन स्वतःस्फुर्त रुपमा श्रमदानमा उत्रिएको बताए । ‘चुनाव लड्दा पाँच हजार बिरुवा रोप्छु भनेको थिएँ, तर  अहिले ६ लाख जति बिरुवा रोपिसकियो ।’ मेयरले भनेका छन् ।