इटहरीः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले फोहोरको डंगुर भएको राजधानीभन्दा खाल्डाखुल्डी भएपनि धरान नै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।
धरानका समस्या बोकेर आइतबार काठमाडौँ पुगेका साम्पाङ्गले फोहोरका डंगुरले भरिएको कोठमाडौँको शहर देखेपछि सो प्रतिक्रिया दिएका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उपमेयर आइन्द्र विक्रम बेघासहित मेयर साम्पाङ्ग काठमाडौँ पुगेका हुन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भएपनि धरान नै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’ शनिबार दिनभर श्रमदान गरेर वृक्षारोपणमा सहभागी भएका मेयर आइतबार भने राजधानीमा छन् ।