इटहरीः इटहरी ५ कि मनिला बुढाथोकीको मृत्यु नभई हत्या नै भएको ठहर मनिलाका माइती पक्षले गरेका छन् । मृतकको घाँटीमा निलडाम देखिएको र शरीरका विभिन्न ठाउँमा समेत चोट देखिएको भन्दै सामान्य मृत्यु नभई हत्या भएको उनीहरुको ठहर छ । 

३ दिन पहिले साउन २३ गते इटहरीस्थित परिवार नियोजन केन्द्रमा गर्भपतन गराएकी मनिलाको साउन २६ गते मृत्यु भएको थियो । मनिलाको  मृत्यु सामान्य नभई असामान्य भएको भन्दै धनकुटाको पाख्रिबास नगरपालिकाका गाउँलेले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीलाई दबाब दिइरहेका छन् । ४ वर्षीया छोरीकी आमासमेत रहेकी मनिलाले श्रीमानको सल्लाहबेगर नै गर्भपतन गराएको पाइएको छ । सासुलाई जानकारी गराएको तर श्रीमानसँग भने सल्लाह नगरेको प्रारम्भिक जानकारी आफूले पाएको इलाका प्रहरी कार्यलय इटहरीका प्रम’ख प्रहरी नायबउपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले प्रदेश पोर्टललाई बताए ।  मनिलाका श्रीमानले मनिलालाई पहिलेदेखि नै अनावश्यक दुख दिने गरेकोमा अचानक भएको मृत्युलाई सामान्य बुझिन नहुने माइती पक्षको भनाइ छ । 

माइती पक्षलाई मृत्यु हुनुभन्दा आधा घण्टा पहिले मात्र नाक तथा मुखबाट रगत बगिरहेकोले मुख हेर्ने भए आउनु भन्दै खबर गरेको र आधा घण्टापछि मृत्यु भइसकेको भन्दै खबर पठाएको माइती पक्षले बताएका छन् । मनिलाले आफ्ना भाइ विपिन बुढाथोकीसँग ‘यसले मलाई मार्छ होला’ भनेका कारण पनि यो मृत्यु नभई हत्या नै भएको उनीहरुको भनाइ थियो । मनिलाको घाँटीमा निलडाम भएको र ढाडमा समेत चोट देखिएको उनीहरुले प्रदेश पोर्टलसँग बताए । मनिलालाई कुटपिट गरी मरणासन्न बनाएर मात्र अस्पताल लगेको हुन सक्ने आशंका उनीहरुको छ । 

मोरङ्गको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मृत्यु भएको मनिलाका बारेमा आफन्तले डाक्टरसँग बुझ्दा डाक्टरले फोक्सोमा पानी जमेको, पिसाब रोकिएका र जण्डिससमेत देखिएको बताएको मनिलाका दाजु नवराज थापाले प्रदेश पोर्टलसँग बताएका थिए । अस्पतालको लापरबाहीका कारण मृत्यु भएको हो भने त्यसको समेत अनुसन्धान हुनुपर्ने मनिलाकी हजुरआमा चन्द्रमाया बुढाथोकीको माग छ । मनिलाका श्रीमानले विवाह गर्ने बेलामा विवाद सृजना गरेका कारण तोकिएको मितिमा विवाह नभई त्यसको पाँच दिनपछि भगाएर विवाह गरेको र त्यतिबेलै मेरो बदनाम गरिस् भन्दै मनिलालाई ‘बदला लिन्छ’ु भन्दै चेतावनी दिएको माइतीको आरोप छ ।  विवाह गर्न जाँदा गुण्डागदीृ गरेका मनिलाका श्रीमानलाई प्रहरीले पक्राउ गरेपछि मनिलाले उनीसँग विवाह नगर्ने भनेपछि त्यत्तिकै फर्किएका थिए । त्यसैबेला उनले पाँच दिनपछि फकाएर लगेको र मन्दिरमा लगेर टिकाटालो गरिदिएको हजुरआमा चन्द्रमाया बताउँछिन् । 

शुक्रबारदेखि इटहरीमा रहेकी चन्द्रमायाले तीन पटक लेखेर जाहेरी दिँदासमेत प्रहरीले मिलेन भन्दै फकाइदिँदै गरेको आरोप लगाइन । अहिलेसम्म मनिलाको घरपक्षबाट कोही पनि इलाका प्रहरीमा आइनपुगेको माइतीपक्ष बताउँछन् । आइतबार अपराहन्नसम्म इलाका प्रहरीमा किटानी जाहेरी परेको छैन । मनिलाका आफन्तले उनको मृत्यु नभई हत्या भएको भन्दै न्याय पाउनुपर्ने माग गरेका छन् । पाख्रिबासबाट मनिलाको पक्षमा आवाज उठाउन २ गाडी माइती पक्षका मानिस इटहरीमा रहेको चन्द्रमाया बताउँछिन् ।