इटहरीः आगामी असोज महिनाको २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुन लागेको खेल र खेलाडीहरुको महाकुभ्म मेला अर्थात् नवौँ राष्ट्रिय खेलको तयारीमा आफूहरु पूर्णतया समर्पित भएको प्रदेश नम्बर १  को प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ । 

प्रदेश राजधानी विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले आफूले माग गरेजति बजेट अहिलेसम्म उपलब्ध नभएको भएता पनि खेल र खेलाडीको लागि महत्वपूर्ण प्रतियोगिता भएको हुनाले जनतासँग एक एक रुपैयाँ उठाएर भएपनि सकेसम्म सबै खेलमा प्रदेश १ ले सहभागिता जनाउने बताए । तथापि आफूहरुले मुख्यमन्त्री, सामाजिक विकास तथा खेलकुद मन्त्री र अर्थमन्त्रीलाई खेलाडीको मनोबल नघटाउन अनुरोध गरेकाले आवश्यक बजेट उपलब्ध हुनेमा भने आफूहरु आशावादी रहेको सदस्यसचिव वाग्लेले पत्रकार सम्मेलनमा बताए । 

नवाँै राष्ट्र्रिय खेलकुद प्रतियोगिता, खेल र खेल पूर्वाधारको विकास गर्न भन्दै सदस्यसचिव वाग्लेले खेलकुदको क्षेत्रका लगभग ६३ करोड बजेट माग गर्दै मन्त्रालयलमा पत्र बुझाएको भएपनि आफूले जम्मा साढे १२ करोडको बजेट मात्र पाएको र यसमा राष्ट्र्रिय खेलकुदका लागि भनेर एकदमै न्यून बजेट विनियोजन गरिएको बताएका थिए । कोरोनाको महामारीबाट थिलथिलो भएको खेलक्षेत्रलाई केही मात्रमा भएपनि राखेपको क्यालेण्डर अन्तर्गतको प्रतियोगिता हुने खबरले उत्साहित बनाएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

298001487_1209246376309034_3002113325479467911_n

अघिल्लो राष्ट्र्रिय खेल अर्थात् आठौँ खेलमा ९ स्वर्ण, २० रजत र ५९ कास्य पदक पाएको प्रदेश १ ले यस पटक भने कम्तिमा १५ स्वर्ण पदकसम्म ल्याउनेमा आफू आशावादी रहेको बोर्डका सदस्यसचिव वाग्लेले बताए । प्रदेश १ ले जिल्ला छनौट गर्न आगामी भदौको २ गतेदेखि ७ गते सम्मको तालिका सार्वजनिक गरेको छ भने जिल्ला छनौटबाट ५ हजार ६ सय खेलाडी प्रदेशस्तरीय वृहत प्रतियोगिताबाट छनौट हुने बताइएको छ । प्रदेशस्तरीय छनौट प्रतियोगिता बोर्डले प्रदेशका १४ वटै जिल्लामा आयोजना गर्ने र सोका लागि २७४ वटा स्वर्ण पदक आवश्यक पर्नेसमेत बोर्डको भनाइ छ । 

गत राष्ट्रि«य खेलका १० वटा समुह बीचको प्रतियोगितामा सातौँ स्थानमा आएको प्रदेश १ ले आगामी राष्ट्रि«य खेलमा कसरी आफ्नो स्तर उकास्ने भन्नेमा पनि बोर्ड चिन्तित रहेको र त्यसका लागि खेलाडीलाई उच्च हौसला दिने बन्द प्रशिक्षणको तयारी गरिएको बोर्डका सदस्य शैलेशकुमार बिष्ट बताउँछन् । नवौँ राष्ट्रि«य खेलकुद प्रतियोगितामा ७ वटा प्रदेशबाट प्रदेशस्तरीय टिम, ३ वटा विभागीय टिम र एनआरएनए गरी ११ वटा टिमले प्रतिस्पर्धा गर्ने र सोका लागि ७ हजार ७ सय ८८ जनाभन्दा बढी खेलाडीहरु गण्डकी प्रदेशको पोखरामा भेला हुने राखेपको भनाइ छ । 

सो खेलका लागि प्रदेश १ बाट ६ सय ९४ जनाको सहभागिता रहने बताइएको छ । हालसम्म प्रदेश १ ले ३४ वटा खेल प्रतियोगितामा सहभागी हुने निश्चित भएको र जिल्लाबाट अन्य २ वटा खेलमा पनि खेलाडी छन् भन्ने सन्देश आएको खण्डमा ३६ वटै खेलमा सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । बिहीबारको पत्रकार सम्मेलनमा बोर्डका सदस्य रोशनी राई, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख चण्डिका बास्तोला, उपनिर्देशक बिमल पोखरेल लगायत बोर्डका अन्य सदस्य र पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।