इटहरीः बराह बचत तथा ऋण सहकारी पीडित संघर्ष समितिका संयोजक खगेन्द्र नेपालीलाइ धरान प्रहरीले हिरासतमा विशेष सुविधा दिएको आरोप लागेको छ । 

पीडित संघर्ष समितिको नाममा नगरपालिकामा नाराबाजी गर्दै तोडफोड गरेको र सोको नेतृत्व गरेको भन्दै धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको किटानी जाहेरीका आधारमा पक्राउ परेका नेपालीलाई हिरासतमा नराखी विशेष सुविधा दिएर डिएसपी कार्यालयमा राखिएको भन्ने सूचना प्रदेश पोर्टललाइ आएपनि डिएसपी बुद्ध श्रेष्ठले भने त्यस्तो नभएको बताएका छन् । 

प्रदेश पोर्टललाइ प्राप्त समाचारअनुसार हिरासतमा रहेका नेपालीलाई मेयर तथा मेयरको मान्छे आउँदा भित्र राख्ने गरेपनि अरु समय हिरासतमा राख्ने गरेको छैन । नेपालीलाई डिएसपी कार्यलयमा राखिने गरेको हो त ? भन्ने  प्रदेश पोर्टलको प्रश्नमा डिएसपी श्रेष्ठले आफ्नो कार्यलयमा राख्ने गरेको भन्ने आरोप गलत भएको बताए । 

सबैलाई हिरासतमै राखिएको र आफूहरुसँग अर्को विशेष ठाउँ नभएको डिएसपी श्रेष्ठले बताए । हिरासतमा रहेका नेपालीलाई खाना पनि क्यान्टिनको नखुवाई घरबाट आउने विशेष खाना दिने गरेको भन्ने प्रश्नमा भने डिएसपी श्रेष्ठले खाना ल्याउने छुट सबै बन्दीका आफन्तलाई हुने बताए । कसैले खाना ल्याएर दिन्छ भने उसलाई घरको खान छुट भएको डिएसपी श्रेष्ठको भनाइ थियो । 

धरानका मेयरको उजुरीका आधारमा पक्राउ परेका नेपालीलाई धरान प्रहरीले पक्राउ गरेको थियो । नेपालीभन्दा २ दिनअघि पक्राउ परेका बराह सहकारी पीडित संघर्ष समितिका प्रवक्ता प्रदीप बास्तोलामाथि पनि अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।